केन्द्रपछि कोशीमा बन्यो सरकार चलाउन दुई दलीय संयन्त्र-Sutra News

केन्द्रपछि कोशीमा बन्यो सरकार चलाउन दुई दलीय संयन्त्र

बुधबार, २८ कार्तिक २०८१

बुधबार, २८ कार्तिक २०८१

काठमाडौँ । कोशी प्रदेशको दुई दलीय संयन्त्रले एक हप्ताभित्र प्रदेशका सबै जिल्लामा जिल्ला स्तरीय संयन्त्र गठन गर्ने निणर्य गरेको छ ।



कोशी प्रदेशको दुई दलीय संयन्त्रले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी निर्णय र सुशासन प्रदान गर्न जिल्ला स्तरीय संयन्त्र गठन गर्ने निणर्य गरेको जनाएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधन र आर्थिक सुधारको मुख्य एजेण्डासहित केन्द्र र प्रदेशमा सरकार गठन भएको थियो । सरकार गठनपछि सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन दुई दलीय संयन्त्र गठन गर्ने निर्र्णय भएको थियो । योसँगै कोशीमा ६ सदस्यीय दुई दलीय संयन्त्र गठन गरिएको हो ।

कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारलाई आवश्यक सल्लाह र सुझाव दिएर प्रदेशको आवश्यकता र औचित्यता पुष्टि गर्ने तथा अराजकता र भ्रष्टाचार अन्त्य गर्न संयन्त्रले काम गर्ने बताए । उनले कोशी प्रदेश संयन्त्रको पहिलो बैठकले मंसिर २९ गते विराटनगरमा जिल्ला संयन्त्रका सदस्यहरूको बैठक गर्ने निर्र्णय गरेको बताए ।.

पत्रकार सम्मेलनमा कांग्रेस कोशीका सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापाले प्रदेश तथा प्रदेशभित्र रहेका स्थानीय सरकारलाई प्रभावकारी र जवाफदेही बनाउँदै गठबन्धनलाई मजबुत बनाउने गरी अघि बढ्ने बताए ।

त्यस्तै, कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले संयन्त्रको सल्लाह सुझाव अनुसार प्रदेशको औचित्यता पुष्टि गर्ने गरी प्रदेश सरकारले आफ्नो काम कारवाहीलाई अघि बढाउने बताए ।

संयन्त्रमा एमालेका तर्फबाट एमाले कोशी प्रदेश इञ्चार्ज एवम् पूर्व मुख्यमन्त्री राई, मुख्यमन्त्री कार्र्की र एमाले कोशी अध्यक्ष घनश्याम खतिवडा रहेका छन् । कांग्रेसबाट कोशी प्रदेश सभापति एवम् पूर्व मुख्यमन्त्री थापा, कोशी प्रदेश महामन्त्री भुपेन्द्र राई र महामन्त्री उमेश थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट