काठमाडौँ । दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेण्ट अफ गभर्मेण्ट इफिसिन्सी’ (डीओजीई) प्रमुखमा नियुक्त गरेका छन् ।
यो पदमा पुगेका डलर खर्बपति मस्कले सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने गरी काम गर्नु पर्ने हुन्छ । राष्ट्रपतिको निर्वाचनमा मस्कले ट्रम्पको पक्षमा खुलेर लागेका थिए ।
मस्क नेतृत्वको डीओजीईमा ट्रम्पले भारतीय मूलका विवेक राधास्वामीलाई पनि नियुक्त गरेका छन् । नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’को संज्ञा दिएका छन् ।
ट्रम्प खर्च कटौतीका लागि अनावश्यक सरकारी विभाग र एजेन्सीलाई बन्द गर्नु पर्ने र अप्रासंगिक नियम कानून संशोधन गर्ने पक्षमा उभिदै आएका छन् ।
ट्रम्पले मंगलबार मात्रै फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार र मार्को रुबियोलाई विदेश मन्त्रीमा नियुक्ति गरेका थिए ।