काठमाडौँ । करिब ६ वर्षअघि बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्त घटना आफूले प्रत्यक्ष देखेको भन्दै अन्तर्वार्ता दिने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याललाई पक्राउ गरेको हो ।
कञ्चनपुरमा २०७५ साल साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । सोही घटनामा आफू प्रत्यक्षदर्शी भएको बताउने अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
गलत विवरण पेश गरी दुष्प्रचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस क्रममा उनले आफूलाई खानेपानी विभागको सवारी चालकका रुपमा चिनाएका थिए ।
अन्तर्वार्तामा अर्यालले १६ जना मन्त्रीहरूको सचिवलयमा बसेर गाडी चलाएको बताएका छन् । उनले आफ्नो नियुक्ति २०५८ सालमा भएको बताएका थिए ।
त्यस क्रममा कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको उनको दाबी थियो । अन्तर्वार्ता लिने प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सीआईबीले बोलाएको छ ।