ठूला उद्योगीले बिल नतिर्दा प्राधिकरणमा समस्या हुँदैछ- कुलमान घिसिङ-Sutra News

ठूला उद्योगीले बिल नतिर्दा प्राधिकरणमा समस्या हुँदैछ- कुलमान घिसिङ

बुधबार, २८ कार्तिक २०८१

बुधबार, २८ कार्तिक २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल नतिर्दा समस्या परेको बताएका छन् ।



काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक घिसिङले सर्वसाधारणले समेत बिजुलीको महसुल तिर्न आनाकानी गरेको बताउँदै प्राधिकरण समस्यामा पर्ने संकेत गरेका हुन् । ठूला उद्योगीसँग पैसा नलिएर सर्वसाधारणसँग पैसा उठाउने गरेको भन्दै सर्वसाधारणले बिल तिर्न छोडेको उनको गुनासो थियो ।

घिसिङले महिनामा १० देखि ११ अर्ब उठ्नु पर्ने भए पनि जम्मा ९ अर्ब मात्रै उठ्न थालेको बताए । ‘ठूला उद्योगीले तिर्नु नपर्ने हामीले मात्रै तिर्नु पर्ने भन्न थाल्नु भयो उहाँहरूले, यसले त प्राधिकरणलाई नोक्सान गर्‍यो नि,’ उनले भने, ‘महिनामै २–३ अर्ब बिल कम उठ्न थालेपछि त समस्या भयो नि ।’

निर्देशक घिसिङले बक्यौताको सन्दर्भमा सरकारको निर्णयअनुसार अब १५ दिन पर्खिने बताए । मन्त्रिपरिषद् बैठकले उद्योगमा काटिएको बिजुली जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्देशनअनुसार आफूहरूले कार्यान्वयन थालेको उनको भनाइ थियो ।

उनले भने, ‘यसअघि पनि लाइन काट्दै जोड्दै भइरहेको छ, अब १५ दिनमा बक्यौता नतिरे प्राधिकरण नियमानुसार अघि बढ्छ ।’

उद्योगहरूले बक्यौता तिर्नुभन्दा थप विवादित बनाएर राजनीतिकरण गर्ने काम गरिरहेको उनको दाबी थियो ।

उनले भने, ‘लाइन काट्नुभन्दा अगाडि उत्पादित वस्तु बिक्री नभएसम्म उद्योगी लाइन जोड्न नआउने र सामान बिक्री भएपछि बेरोजगार बढ्यो, अर्थतन्त्र तहसनहस भयो भन्दै ब्ल्याकमेल गर्नु हुन्छ, सरकारलाई केही न केही निर्णय गर्न बाध्य पार्नु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट