काठमाडौँ । उत्तरी पाकिस्तानको गिलगिट-बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ ।
उद्धारका लागि घटनास्थमा खटिएका वजीर असद अलीले भने, “बसमा २५ जना सवार थिए, अहिलेसम्म १४ जनाको शव निकालिएको छ, १० जना अझै हराइरहेका छन् ।”
गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाको खोजी कार्य जारी रहेको बताए । “घटनामा घाइते अवस्थामा उद्धार गरिएकी बेहुली खतरामुक्त छिन् र उनको गिलगित अस्पतालमा उपचार भइरहेको छ,” अलीले भने ।
त्यस क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारी नाइक आलमले एएफपीलाई बताएअनुसार चालकले तीव्र गतिमा गाडी चलाएको जस्तो देखिन्छ ।
दुलहाको परिवार विवाहका लागि पाँच सय किलोमिटर भन्दा बढी टाढा पञ्जाबबाट गिलगिट-बाल्टिस्तानमा गई बेहुली लिएर घर फर्कंदै गर्दा दुर्घटना भएको थियो ।