माओवादी जनविश्वाससहित उकालो यात्रामा लागेको प्रचण्डको जिकिर-Sutra News

माओवादी जनविश्वाससहित उकालो यात्रामा लागेको प्रचण्डको जिकिर

बुधबार, २८ कार्तिक २०८१

बुधबार, २८ कार्तिक २०८१

काठमाडौं। नेकपा माओवादी केन्द्र पछिल्लो समय जनविश्वाससहित उकालो यात्रामा लागेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिकिर रहेको छ । उनले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् ।



मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरूलाई भित्र्याउँदै रुपान्तरणसहित माओवादी अब उकालो यात्रामा निरन्तर अघि बढ्ने बताए । उनले भने, ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो । तर विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’

अहिले एकातिर माओवादी एकताको क्रम सुरु भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र ‘प्रचण्ड’प्रति विश्वास बढेको जिकिर गरे । विभिन्न जिल्लाहरूमा जाँदा २०६४ कै झल्को आउने गरी जनआकर्षण देखिन थालेको ‘प्रचण्ड’ले दाबी गरे ।

जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताए । पार्टी एकताका विभिन्न दलगत रूपमा विभिन्न माओवादी घटकहरूसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वस्फूर्त ध्रुवीकरण पनि चलिहरेको बताए ।जनयुद्धको तयारी, सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताए ।

जनयुद्ध लडेका कयौँ नेता कार्यकर्ता क्रान्ति भइहाल्छ कि भनेर विद्रोह गरेर गएको उल्लेख गर्दै उनले भने, ‘क्रान्तिको खोजीमा निस्कनु तपाईँहरूको गलत नियत थिएन तर क्रान्ति रहरले नभई एउटा प्रक्रियाले हुने भएकाले फेरि पनि क्रान्तिकारीहरूबीच ध्रुवीकरण र एकताको विकल्प छैन । सबै साथीहरू ढिलोचाँडो एक ठाउँमा हुने छौँ, जनताले क्रान्तिप्रति गरेको विश्वास र सपना पूरा गर्न सबै मिलेर नयाँ प्रक्रियाबाट अघि बढ्ने छौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट