काठमाडौं। बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज बिहीबार तेस्रो दिन पनि बयान सुरू भएको छ ।
पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको हो । हिजो १० घण्टा बयान लिइएको थियो । प्रहरीका अनुसार लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाउने तयारी छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगीको आरोपमा रुपन्देही प्रहरीले कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रूपन्देही ल्याएर बयान लिएको हो ।
सभापति लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता, प्रहरी अधिकारीहरुको उपस्थितीमा मंगलबार पाँच घण्टा र बुधवार करिब दश घण्टा गरी करिब १५ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जनाएको छ ।
बुधवार बयान लिंदै गर्दा रातपरेपछि बिहीवार बिहानसम्मका लागि बयान स्थगित गरिएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।
बयानलाई अन्तिम रुप दिन र प्रश्नको नम्बरिङ कार्य बाँकी रहेकोले आज बिहीवार बिहानै देखि पुनः लामिछानेसँग बयान लिइने उनले बताए । लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।