आईपीएलमा एकल प्रदर्शनमा उपाधि जिताएका शिखर कर्णाली याक्सबाट खेल्ने-Sutra News

आईपीएलमा एकल प्रदर्शनमा उपाधि जिताएका शिखर कर्णाली याक्सबाट खेल्ने

बिहिबार, २९ कार्तिक २०८१

बिहिबार, २९ कार्तिक २०८१

काठमाडौँ । आगामी मंसिर १५ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको ‘फेस्टिभ अफ हिमालय’ नाम दिइएको नेपाल प्रिमियर लिग (एनपीएल)का भारतीय दिग्गज खेलाडी शिखर धवन अनुबन्धन भएका छन् ।



कर्णाली याक्सले विश्व चर्चित खेलाडी धवनलाई एनपीएलका लागि टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले भारत पुगेर उनीसँग अनुबन्धनका लागि सम्झौता गरेको हो ।

कर्णाली याक्सले भारतीय टोलीका लागि टी २०, एक दिवसीय र टेस्ट टिमबाट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो । उनलाई अनुबन्ध गर्न भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले पहल गरेका थिए । यसले एनपीएलकै समग्र ब्राण्ङिमा ठूलो सहयोग पुग्ने आंकलन गरिएको छ ।

नेपाली खेलाडीहरूको अक्सनपछि विदेशी खेलाडीलाई एनपीएलका लागि नाम दर्ता आह्वान गर्दा भारतीय स्टार क्रिकेटर धवनले आफ्ना एजेन्टमार्फत पूरै सिजन उपलब्ध हुने जानकारी गराएका थिए । त्यसपछि एनपीएल फ्रेञ्चाइजी टिम कर्णाली याक्सको टोली भारत पुगेर उनीसँग सम्झौता गरेको हो ।

धवन र कर्णाली याक्सका मालिक झनक दत्त खनालले हस्ताक्षर सम्झौता सार्वजनिक भए पनि सम्झौता रकम गोप्य राखिएको छ ।

विश्वकै सबैभन्दा मंहगो र चर्चित व्यवसायिक क्रिकेट लिग आईपीएलका लागि दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबाट खेलेका उनले सन् २०१६ मा हैदरावादलाई आईपीएलको उपाधी जिताएका थिए ।

धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक खनालले खुशी व्यक्त गरे । उनले नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि रहेको प्रतिक्रिया दिँदा भारतका लागि कार्यवाहक राजदूत थापाले नेपालमा पर्यटन प्रवर्द्धन लागि सुखद सुरुवात हुने विश्वास लिए ।

कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबैभन्दा अनुभवी बलिङ अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रूपमा छन् । कर्णालीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट