काठमाडौँ । बाबु छोराको जीवन कथा, ग्रामीण समाज र गरिबीलाई प्राथमिकताका साथ प्रस्तुत गरेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको उक्त चलचित्र प्रदर्शनको १४ औँ दिनसम्म आइपुग्दा २७ करोड संकलन गरेको निर्माता विनोद पौडेलले जानकारी दिए ।
नेपाली समाजको वास्तविकतालाई उजागर गरेको उक्त चलचित्रको पटकथा र पात्रको अभिनयले दर्शकको साथ पाएको हो । चलचित्र प्रदर्शन भएदेखि हलहरुमा दर्शकको घुइचो उत्तिकै रहेको छ । चलचित्रले दर्शकलाई धावुकसमेत बनाएको छ ।
निर्माता पौडेलले भने, “हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनु पर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उहाँले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।”
उनले चलचित्रले मंगलबारसम्म २५ करोड तीन लाख र बुधबार दुई करोडको हाराहारीमा व्यापार गरेको बताए । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा समेत निस्किएको छ । निर्माता पौडेलले आजदेखि पूर्वबाट सुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिए ।
“हामी गाईघाटबाट भ्रमण सुरु गर्दै छौँ, ग्रामीण भेगका चलचित्र भवनमा पुगेर त्यहाँका दर्शकलाई धन्यवाद दिने छौँ, उहाँहरुको मायाले हामी मात्र नभई नयाँ निर्मातालाई पनि हौसला मिलेको छ”, उनले भने ।
उक्त भ्रमणमा निर्माता पौडेलसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन् । यो चलचित्रले एकै दिन तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा ४६५ भन्दा बढी शो पाएको रेकर्डसमेत बनाएको छ । यसअगाडि चलचित्र ‘कबड्डी ४- द फाइनल म्याच’ ले २३ करोड ५० लाखको व्यापार गरेको बताइएको छ ।