काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको आगामी पुस १७ गते दुई वर्ष पूरा हुँदैछ । दुई वर्षको अवधिमा यस विमानस्थलबाट दुई वटा मात्रै अन्तर्राष्ट्रिय उडान सम्पन्न भएको छ ।
विं.सं. २०८० असार ६ गते पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले कार्तिक २२ गते बिहीबार दोस्रो उडान गरेको थियो । यसबाहेक यस विमानस्थलबाट अन्तर्राष्टिय स्तरको उडान हुन सकेको छैन ।
चीनको सितुवान एयरलाइन्स कम्पनीले मात्रै उडान गरेको यस विमानस्थलको निर्माण चिनियाँ सरकारले ऋण उपलब्ध गराएको थियो । चीन सरकारको २२ अर्ब ऋणमा बनेको विमानस्थल सरकारको टाउको दुखाई बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणमा ऋण मिनाहको प्रस्ताव गर्ने भएका छन् ।
प्रधानमन्त्री अोली मंसिरमा भ्रमण गर्ने गरी परराष्ट्र मन्त्रालयले तयारी गरिरहँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा सुरु भएको हो । यसअघि अर्थ मन्त्रालयले डेढ महिनाअघि चीनको अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनको टोलीसँग यसबारे प्रस्ताव गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमण गर्दासमेत यस विमानस्थल निर्माणमा दिइएको ऋण मिनाह गरिदिन आग्रह गरिएको थियो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री ओलीको चीन भ्रमणको समयमा पनि ऋण मिनाहासँगै विमानस्थलको व्यावसायिक सञ्चालनबारे छलफल हुने बताए ।
उक्त विमानस्थल बनाउका लागि नेपालले चीनको एक्जिम बैंकसँग २०७२ चैत ८ गते ऋण सम्झौता गरेको थियो । २७ पुस ०७३ देखि निर्माण सुरु भई १७ पुस ०७९ मा उद्घाटन भएको विमानस्थल सञ्चालन हुन नसक्दा नेपाल सरकारमाथि थप आर्थिक भार बढ्दै गएको छ ।
नेपाल सरकारले मासिक ब्याज ९५ करोड ४५ लाख तिर्नु पर्ने भए पनि विमानस्थलबाट आम्दानी हुन सकेको छैन । यो विमानस्थल निर्माण भएसँगै सरकार ब्याज मात्रै ११ अर्ब ४५ करोड रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
आम्दानीबिना ब्याज मात्रै अर्बौं रुपैयाँ तिर्नु भएपछि नेपाल सरकारले चीनसँग विमानस्थल निर्माण लिएको ऋण मिनाह गर्न प्रयास गर्दै आएको छ । तर, सफल हुन सकेको छैन् ।
प्रधानमन्त्रीको असफल प्रयास
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री बनेका थिए । आफू सत्तामा पुगेपछि उनी दक्षिण छिमेकी देश भारतमा भ्रमण गर्न चाहेका थिए ।
यसका लागि उनी आफैले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरी नेपाल भ्रमणको निम्तो दिए । असोजको ४ देखि १४ गतेसम्म संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहँदा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आधा घण्टा भेटवार्ता भएको थियो ।
यस क्रममा दुई देशबीचको सम्बन्धसहित विभिन्न पक्षमा छलफल भएको थियो । भेटमा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
यसअघि, परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाँदा प्रधानमन्त्री ओलीको सन्देशबारे जानकारी दिँदै नेपाल भ्रमण गर्न निम्तो दिइएकी थिइन् ।
तेस्रो पटक भारतको सत्ता सम्हालिरहेका मोदीले नेपालको निम्तो स्वीकार गरे पनि बेवस्था गर्दै आएका छन् । यसैबीच उनको सरकारले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएको छैन । आफूले भारत भ्रमणमा जान चाहे पनि असफल भएपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणका लागि तयारी गर्न निर्देशन दिएका थिए ।
जसअनुसार प्रधानमन्त्री ओली मंसिरमा उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारी भएको हो । उनको भ्रमणका लागि एमालेका विदेश विभाग र सरकारबाट तयारी भइरहेको जनाइएको छ ।
संविधान संशोधन गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको प्रशासनिक चुच्चे नक्सा सार्वजनिक गरेसँगै ओलीसँग भारत असन्तुष्ट बन्दै आएको हो ।
चीन भ्रमणमा जाँदा प्रधानमन्त्री ओलीले फेरि असफल प्रयास गर्ने भएका हुन् । उनले चीन सरकारसँग पोखरा विमानस्थल निर्माणमा दिइएको २२ अर्ब ऋण मिनाहको प्रस्ताव गर्ने भएका छन् । उनीभन्दा अगाडिका प्रधानमन्त्री असफल भएको उक्त प्रस्ताव चीनले स्वीकार गर्ने संकेत देखाएको छैन ।