काठमाडौं। आगामी मंसिर ७ गते नेकपा कम्युनिष्ट पार्टी (नेकपा) एमालेले शक्ति प्रदर्शन गर्ने भएको छ । एमालेले उपत्यकास्तरीय शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो ।
मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिन प्रदर्शन गर्न लागेको बताइएको छ ।
सत्ताको नेतृत्व गरेको एमालेले जागरण सभाको नाममा समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता–कार्यकर्ता परिचालन गर्दै प्रदर्शन गर्न लागिएको हो । सभा र प्रदर्शनमा करिब १ लाख नेता–कार्यकर्ता सडकमा आउने एमालेले जनाएको छ ।
काठमाडौंको भृकुटीमण्डमा हुने जागरण सभामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने बताइएको छ ।
सभालाई भव्य र व्यवस्थित बनाउन जनसंगठन र सम्पर्क मञ्च समेत परिचालन गरिएको छ । बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईको नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति बनाइएको छ ।
प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको कामकारबाही र कार्यशैलीको आलोचना गर्दै सडक आन्दोलन गरिरहेका बेला सरकारको नेतृत्वकर्ता दलले समेत प्रदर्शन गर्न लागेको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले यसअघि कार्तिक १० गते काठमाडौंमा खबरदारी सभा गरेको थियो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सरकार विरुद्ध सडक आन्दोलनमा छ ।