रवि लामिछानको पक्षमा आन्दोलन गर्ने वा नगर्ने भन्नेबारे पार्टीभित्र छलफल सुरु-Sutra News

रवि लामिछानको पक्षमा आन्दोलन गर्ने वा नगर्ने भन्नेबारे पार्टीभित्र छलफल सुरु

बिहिबार, २९ कार्तिक २०८१

बिहिबार, २९ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गरिरहेको आन्दोलनबारे समिक्षा भइरहेको जानकारी दिएका छन् ।



सिंहदरबारमा बिहीबार बसेको पार्टी संसदीय दलको अनौपचारिक छलफलपछि कुरा गर्दै परियारले आन्दोलनलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।

आफूहरूको आन्दोलनले पार्टीलाई मात्रै नभई जनतालाई पनि फाइदा हुनु पर्ने भन्दै उनले विभिन्न कोणबाट खुल्ला रुपमा पार्टीभित्र बहस भएको बताए । पार्टीभित्रको विवादका विषयमा सोधिएको प्रश्नमा परियारले पार्टीभित्र कुनै गुट–उपगुट नरहेको दाबी गरे ।

कार्यबहाक सभापतिका विषयमा पनि पार्टीभित्र कुनै विवाद नरहेको उनको भनाइ छ । उनले आफ्ना नेताविरुद्ध अदालतको अवहेलना मुद्दाका विषयमा पार्टीभित्र छलफल चलिरहेको जानकारी दिए ।

यस्तै, रास्वपाका सांसद गणेश पराजुलीले सरकारले राजनीतिक प्रतिशोध साधेकाले आन्दोलन निरन्तर अघि बढ्ने बताए । उनले सरकारको रवैयाविरुद्ध उपनिर्वाचनलाई आन्दोलनको रुपमा अघि बढाउने दाबी गरे ।

गत कार्तिक २ गते काठमाडौँस्थित पार्टी कार्यालयबाट पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभर आन्दोलन गर्दै आएको छ । उनी सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट