नेपाली महिला क्रिकेटमा ठूलो उपलब्धी हासिल गरेर फर्किंदै टोली-Sutra News

नेपाली महिला क्रिकेटमा ठूलो उपलब्धी हासिल गरेर फर्किंदै टोली

बिहिबार, २९ कार्तिक २०८१

बिहिबार, २९ कार्तिक २०८१
काठमाडौँ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली यू-१९ महिला क्रिकेट टोली आज स्वदेश फर्किने भएको छ ।
यू-१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनले टोलीलाई विमानस्थलमा स्वागतका लागि तयारी भइरहेको समेत बताए ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आईसीसी यू-१९ महिला टि-२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । नेपाली महिला क्रिकेटमा यो नै अहिलेसम्म सबैभन्दा ठूलो उपलब्धी हो ।
एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो । एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू-१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू-१९ महिला एसिया कपमा सहभागिता जनाउने छ ।
एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी)का अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट