काठमाडौँ-जापानको मात्सुमोतो नगरबीच भगिनी सम्बन्धको ३५ वर्ष पूरा-Sutra News

काठमाडौँ-जापानको मात्सुमोतो नगरबीच भगिनी सम्बन्धको ३५ वर्ष पूरा

बिहिबार, २९ कार्तिक २०८१

बिहिबार, २९ कार्तिक २०८१

काठमाडौँ । काठमाडौँ महानगर र जापानको मात्सुमोतो नगरबीचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताएका छन् ।



सम्बन्ध स्थापना भएको ३५ औँ वर्षको अवसरमा काठमाडौँको अवलोकन भ्रमणका लागि आएका मात्सुमोतो नगरपालिकाका प्रमुख योशिनाओ गान नेतृत्वको प्रतिनिधि मण्डलको स्वागतमा महानगरले आयोजना गरेको कार्यक्रममा आपसी सम्बन्धका विषयमा कुराकानी गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

भेटका क्रममा महानगरका प्रमुख बालेन्द्र शाहले मित्रताको चिनो स्वरुप ढाका टोपी र देशे मरु झ्याः को प्रतिकृति उपहार स्वरुप प्रदान गरे । मात्सुमोतोका प्रमुख गानले, हस्तकलाबाट निर्मित सामग्री उपहार स्वरुप प्रदान गरेका थिए ।

भ्रमण टोलीका सदस्यहरुलाई महानगरका उपप्रमुख सुनिता डंगोलले ढाका टोपी, पस्मिनाको सल र बुद्धको प्रतिमा उपहार स्वरुप प्रदान गरेकी थिइन् । मात्सुमोतोको प्रतिनिधि मण्डलमा मात्सुमोतो नगर परिषदका अध्यक्ष युताका कामिझोसहित विभिन्न संघसंस्थाका १९ जना प्रतिनिधि सहभागी थिए ।

स्वागत कार्यक्रममा मात्सुमोतो नगरका कर्मचारीका तर्फबाट संकलन गरिएको दुई लाख जापानी येन प्रमुख गानले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हस्तान्तरण गरेका थिए ।

गएको असोज महिनामा काठमाडौँमा बाढी आएर जनजीवनमा प्रभाव पारेको खवर पाएपछि यस प्रकारको प्रकोपमा सहयोग गर्न रकम संकलन भएको रकम भ्रमणका अवसरमा हस्तान्तरण गरिएको हो । स्वागत कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसहित पदाधिकारीहरु सहभागी थिए ।

प्रतिनिधि मण्डल मंगलबार काठमाडौँ आएको हो । आगमन अवसरमा प्रमुख गानलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीसहित अधिकारीहरुले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए ।

मंगलबार नै टोलीले ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन गरेको थियो । बुधबार बसन्तपुर, स्वयम्भू र बौद्ध क्षेत्रको अवलोकन गर्ने, नयाँ बजारमा रहेको मल्टिपर्पोस मार्सल आर्ट सेन्टरको अवलोकन गर्ने तथा स्थानीय संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ ।

काठमाडौं र मात्सुमोतो नगरकाबीचमा सन् १९८९ नोभेम्बर १७ तारिखका दिन भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट