काठमाडौं। आज संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दै छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा समितिले गर्ने स्थलगत अनुगमन तथा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ ।
दिउँसो सवा १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुनेछ । दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूचीमा उल्लेख छ ।