काठमाडौं। रारा विमानस्थल ताल्चाबाट नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । दशैं र तिहार सकिएपछि पनि हवाई उडान नियमित हुन सकेको छैन् ।
कर्णाली राजमार्गको यात्रा कठिन र जोखिमपूर्ण भएकाले यहाँका बासिन्दाले हवाई यात्रालाई सहज र सुरक्षित मान्ने गर्दछन् । समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स, र सीता एयरका उडानहरू नियमित नहुँदा बिरामी, विद्यार्थी र अन्य कामले जिल्ला बाहिर जानुपर्ने स्थानीयहरू समस्यामा परेका हुन ।
रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालका अनुसार केही दिन अघि सबै हवाई जहाजहरू पूर्वी क्षेत्रतर्फ पर्यटक ओसार्न व्यस्त भएका कारण रारा विमान स्थलका उडानहरू प्रभावित भएका छन् । स्थानीयबासीहरूले हवाई कम्पनीहरूलाई रारा विमानस्थलमा नियमित उडान सुचारु गर्न आग्रह गरेका छन् ।
मुगु पर्यटकिय जिल्ला भएकाले बिगतमा दैनिक जसो उडान भैरहने भएपनि पछिल्लो समयमा उडान अनियमित हुँदा जिल्ला बाहिर जाने बिरामी, विद्यार्थीलगायत अन्य समस्यामा परेका छन् । सबै जहाजहरूले रारामा हप्तामा एउटा दुईटा उडान भर्दै आएका छन् ।
नेपाल कै ठूलो र गहिरो ताल रारा घुम्न आउने प्रायः पर्यटकहरु स्थल मार्गबाट रारा पुग्ने र केही दिन रारा क्षेत्रमा घुमेर हवाइ मार्गबाट फर्कने गर्दै आएका थिए । नियमित उडान नहुँदा रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरु पनि प्रभावित भएका छन् ।