काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले १७ वटा स्थानमा उम्मेदवार टुंगो लगाएको छ ।
नाउपाले सुदुरपश्चिम बझाङको सुर्मा गाउँपालिका ४ को वडाध्यक्षमा रेखा जेठारा, कैलालीको जिसस प्रमुखमा रुक्मती थारुनी, कञ्चनपुर भिमदत्त नगरपालिका ६ मा वडाध्यक्ष हरिश चौधरीलाई उम्मेदवार बनाएको छ ।
यसैगरी लुम्बिनी प्रदेशको कपिलवस्तुको सुद्धोधन गाउँपालिका १ मा वडाध्यक्षको लागि सुर्यकुमार चौधरी थारु, बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड ४ को वडाध्यक्षका लागि प्रितिलाल थारुको नाम टुंगो लगाएको छ भने गण्डकी प्रदेशको गोरखामा गोरखा नगरपालिका ५ मा वडाध्यक्षका लागि सुकमाया नेपाली, बाग्मती प्रदेशको नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्षका लागि अमृत तामाङलाई उम्मेदवार बनाएको छ ।
यस्तै मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ मा अध्यक्षका लागि शिवकुमार राम र सोही पालिका वार्ड १ को वडाध्यक्षका लागि चन्द्रकिशोर चौधरीको नाम टुंगो लगाएको छ । यस्तै रौतहटको इशनाथ नगरपालिका ७ मा वडाध्यक्षका लागि टेक साहिद, रौतहटकै राजपुर नगरपालिका वार्ड ६मा वडाध्यक्षका लागि नरुद्धिन खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने यसैगरी रौतहटकै गढीमाई नगरपालिका ८ को वडाध्यक्षका लागि टेक सुनौलालाई सिफारिस गरेको छ ।
यस्तै कोशी प्रदेशअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि बुद्धिचन विश्वासलाई उम्मेदवार बनाएको छ । सुनसरीको गढी गाउँपालिका वार्ड ८ मा वडाध्यक्षका लागि ललित चौधरी, ताप्लेजुडको सिरीजङ्घा गाउँपालिका ३ का वडाध्यक्षका लागि प्रेममा देनलाई उम्मेदवार बनाउने नाउपाले निर्णय गरेको छ।
यस्तै उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाध्यक्षका लागि सिताराम चौधरी र उदयपुरकै बेलका नगरपालिका ८ को वडाध्यक्षका लागि भुपेन्द्र राईलाई सिफारिस गरिएको पार्टीले जनाएको छ । साथै अन्य स्थानका लागि उम्मेदवारको सिफारिस प्रक्रियामा रहेको पार्टीले जनाएको छ ।