नेपाली महले बजार पाउन थाल्यो-Sutra News

नेपाली महले बजार पाउन थाल्यो

शुक्रबार, ३० कार्तिक २०८१

शुक्रबार, ३० कार्तिक २०८१

काठमाडौं। निर्यात भन्दा आयातबढी भएको नेपाली बजारमा पछिल्लो समय नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ । यसअघि आयात खुला हुँदा यहाँ उत्पादित महले बजार नपाउँदा थन्किएर बसेको थियो ।



नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्मा पौडेलका अनुसार अहिले एक हजार दुई सय मेट्रिकटन मह बिक्री हुन बाँकी छ । सोमध्ये तीन सय मेट्रिकटन चितवनमा छ । यसअघि आयात खुला हुँदा तीन हजार एक सय ४५ मेट्रिकटन मह भण्डारणमा थियो ।

बाहिरबाट आयात गर्न सरकारले रोक लगाएसँगै भण्डारण गरिएको मह बिक्री भएको हो । पूर्वअध्यक्ष शर्माले भने, “पुरानै मह भण्डारमा थन्किएको छ । आयात नखोल्दिने हो भने यो मह सकिन समय लाग्दैन ।” आयात खोले पनि भन्सार दर ६० प्रतिशतले वृद्धि गर्न आवश्यक रहेको उनले बताए ।

नेपालमा अहिले एक लाख ६० हजार घार मेलीफेरा र एक लाख ७० हजार घार सेरेना मौरी रहेको पूर्वअध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार यी घारबाट वार्षिक चार हजार नौ सय मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । यस वर्षको उत्पादन लिन सुरु हुन लागेको शर्माले बताए ।

महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार सरकारले गत वैशाखदेखि महको आयातमा रोक लगाएको छ । उनले भने, “अहिले विदेशी ठूला कम्पनीलेसमेत नेपालको मह खरिद गरेर बिक्रीवितरण गर्दै आएका छन् ।”

आफूहरूले सरकारलाई आयात नखोल्न आग्रह गरेको अध्यक्ष घिमिरेले बताए । नेपालमा महको खपत वार्षिक नौ हजार दुई सय मेट्रिकटन हुने गरेको जनाउँदै उनले भने, “नेपालको महले नेपालीलाई पुग्दैन तर विडम्बना किसानको घरमा मह थन्किएर बसेको छ ।”

भारतबाट आयात हुने सस्तो महसँग नेपालको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको महासङ्घका अध्यक्ष घिमिरेको भनाइ छ । आयात रोकिए यहाँ उत्पादित महका लागि बजारको समस्या नहुने उनले बताए ।

बाहिरबाट आयात रोकिएसंगै नेपाली उत्पादनले राम्रो बजार पाउँनसक्छ भन्ने गतिलो उदाहरण बनेको छ मह । मह मात्र नभई नेपालमा हुने अन्य उत्पादनमा बाहिरी आयात रोकिने हो भने कृषकमा थप उत्साह थपिने र उत्पादन बढ्ने निश्चित छ । सरकारले त्यसतर्फ समयमा नै ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट