काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनु पर्ने बताएका छन् । उनले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हाबी रहेको आरोप लगाए ।
मंसिर १६ गते हुने उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका ६ मा जनमत पार्टीका तर्फबाट उम्मेदवार घोषणा गर्न आज कनकाईको चम्पापुरमा आयोजित सभामा मुलुकमा पटकपटक क्रान्तिमार्फत सत्ता फेरिए पनि मानसिकता फेरिन नसकेको बताए ।
अध्यक्ष डा. राउतले उत्पीडित समुदाय र आमनागरिकले अनुभूत गर्ने गरी काम गर्न जरूरी रहेकामा जोड दिए । सो पार्टीका तर्फबाट कनकाई नगरपालिका ६ मा शुकलाल राजवंशीलाई उम्मेदवार घोषणा गरिएको छ । झापामा जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलोपल्ट भाग लिएको हो ।
निर्वाचन कार्यालय झापाका अनुसार कनकाई ६ मा दुई हजार ५८ मतदाता रहेका छन् । विं.सं. २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।