काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आईसीसी यु १९ महिला टि २० विश्वकपमा छनोट भएको नेपाली यु १९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।
आज संयुक्त रूपमा एनपीएलमा आबद्ध टोलीले नेपाली यु १९ महिला क्रिकेट टोलीलाई १० लाख दिने घोषणा गरेका हुन् । युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आईसीसी यु १९ महिला टि २० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।
नेपाली यु १९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ । यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहन स्वरूप जनही दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।
यु १९ महिला विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदै छ । त्यसअघि नेपालले यु १९ एसिया कप खेल्ने छ । आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसिसी यु १९ महिला एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ ।
एसियाली क्रिकेट परिषद् (एसिसी)अनुसार समूह ‘ए’मा नेपालसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका र मलेसिया छन् । नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्ने छ ।