काठमाडौं। भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका ५ का ४५ वर्षीय गोविन्द सुवाल रहेका छन्।
चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका ५ पिखेलमा शुक्रबार साँझ दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सुवालको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
सोही ट्याक्टरमा सवार भक्तपुर नगरपालिका २ व्यासीका ४८ वर्षीय गणेश सुवाल घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ । सामान्य घाइते भएका अन्य ४ जना भने डिस्चार्ज भइसकेका छन् ।