काठमाडौँ । ‘नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरूको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ,’ गत बिहीबार स्वतन्त्र प्रताप शाहले भने ।
‘सुदूरपश्चिम रोयल्स’का मालिकसमेत रहेका उनको व्यस्तता उसै गरी बढेको छ, जसरी प्रतियोगिताको ‘चार्म’ बढिरहेको छ । ‘प्रतियोगिता सुरु हुन धेरै दिन बाँकी छैन, विदेशी खेलाडी अनुबन्धनदेखि प्रायोजकसँगको छलफलले समय निकाल्न पनि मुस्किल भइरहेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय ब्रोडकास्टरदेखि खेलाडीको प्रवेशले प्रतियोगितालाई अझ स्तरीय बनाउँदै लगेको छ ।’
एनपिएलका आठ टिममध्ये सुदूरपश्चिम रोयल्सलाई शाहको कम्पनी एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले एक करोड ६८ लाख ८८ हजार ८८८ मा खरिद गरेको हो । जसरी प्रतियोगिताका आम दर्शक र व्यावसायिक कम्पनीको चासो बढिरहेको छ, यसले एनपिएललाई प्रतिष्ठित र महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको उनको बुझाइ छ ।
दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा रहेका शाहले त्यहाँ पनि क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । ‘विगत पाँच वर्षदेखि क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा एम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेको छु, त्यहाँ पनि बर्सेनि क्रिकेट लिग आयोजना हुन्छ, यहाँ जस्तै बोलकबोलमा खेलाडी छनोट गरी प्रतियोगिता आयोजना भइरहेको छ,’ उनले भने, ‘अष्ट्रेलियामा जागेको क्रिकेटको क्रेजले नै मलाई एनपिएलसम्म डोर्याएको हो ।’
स्कुले जीवनमा क्रिकेटमा सामान्य रुचि राख्ने उनी कुनै समय तेक्वान्दो खेलाडी थिए । त्यसबेला तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्टलगायतसँग सहकार्य गरेको उनको अनुभव छ । विष्ट अहिले सुदूरपश्चिम रोयल्सको ‘ब्राण्ड एम्बासडर’समेत हुन् ।
अध्ययनका सिलसिलामा सिंगापुर हुँदै सन् २००३ मा अष्ट्रेलिया पुगेका कैलालीको टीकापुरका शाहले अष्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरेका छन् । सन् १९९८ मा टीकापुरबाट एसएलसीको पढाइ सकाएपछि प्लस टु पढ्न काठमाडौँ आएका शाह सन् २००१ मा डिप्लोमा इन बिजनेस एडमिनिष्ट्रेसन पढ्न सिंगापुर गएकोमा सन् २००३ मा एड्भान्स डिप्लोमा पढ्न उतैबाट अष्ट्रेलिया गएका थिए ।
अष्ट्रेलियामा ‘माइग्रेस ल’को पढाइ सकाएपछि सन् २०१० मा शैक्षिक परामर्श क्षेत्रबाट व्यवसायमा हात हालेका उनले कुनै समय पाँच वटा रेष्टुरेन्ट सञ्चालन गरेका थिए । उनलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले २०७९ सालमा अष्ट्रेलियाका लागि पर्यटन दूतको महत्वपूर्ण जिम्मेवारी दिएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिव रहेका शाह सन् २०२१ मा स्थापना भएको अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघको संस्थापक अध्यक्ष छन् । महासंघको सञ्जाल यतिबेला विश्वका १२ वटा देशमा फैलिएको छ ।
भविष्यमा ४० देखि ५० देशमा सञ्जाल विस्तार गर्ने र नेपालका लागि केही गरौँ भन्ने युवा उद्यमीहरुलाई अवसर प्रदान गर्ने योजना रहेको उनले सुनाए । यसै मञ्चमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी ल्याउने योजनाअन्तर्गत उनको नेतृत्वमा धनगढीमा पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
विश्वभर फैलिएका नेपाली युवा उद्यमीलाई एकै ठाउँमा ल्याइ नेपालमा सामूहिक लगानीको अवसर सृजना गर्ने र ‘आइडिया’ आदानप्रदान गर्ने उद्देश्यले महासंघ गठन गरिएको उनको भनाइ छ ।
शाहको परिचय व्यवसायीका रुपमा मात्रै सीमित छैन । उनीले केही चलचित्रमा नायकको भूमिमा देखिएका छन् । नेपाली चलचित्र ‘फेसबुक’मार्फत कलाकारितामा प्रवेश गरेका उनले त्यसपछि ‘मेरो भ्यालेन्टाइन’ चलचित्रमा अभिनय गरेका हुन् ।
अष्ट्रेलिया केन्द्रित व्यापार व्यवसाय भए पनि शाहले नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट नियालिरहेका थिए । विश्व क्रिकेटमा नेपाली खेलाडीले देखाउँदै आएको खेल कौशल र दर्शकको अपार मायाले उनलाई नेपाली क्रिकेटप्रति आकर्षित गरिरहेको छ । उनी आफै पनि नेपाली क्रिकेटका ठूला प्रसंशक हुन् ।
उनले अष्ट्रेलियाका लागि टी-२० विश्वकप जिताउने टोलीका ब्राड हजलाई सुदूरपश्चिम रोयल्सको ‘मेन्टर’का रुपमा भित्र्याएका छन् । यसले दुई देशबीचको सम्बन्ध थप विस्तार हुनुका साथै नेपाली खेलाडीलाई पनि अष्ट्रेलियामा खेल्ने अवसर प्रदान हुनसक्ने शाहको भनाइ छ ।
जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्र सिंह ऐरीले गर्ने छन् । उक्त टोलीलाई स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन, न्युजिल्याण्डका बलिङ अलराउण्डर स्कट कुगेलेइन, इङ्ग्ल्याण्डका सेफ अली जेब, यूएईका रोहन मुस्ताफाले साथ दिनेछन् ।
साथै टोली आरिफ शेख, अभिनाश बोहोरा, बिनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।