काठमाडौं। स्थानिय तहको उपनिर्वाचनको मुखैमा नेपाली कांग्रेसले स्थगन गरेको १०० दिने विशेष अभियान पुनःसुरु गरेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि भोलि २ गते उम्मेदवारी दर्ताको दिन भएता पनि आजसम्म सबै स्थानका लागि उम्मेदवार टुङ्ग्याउन सकेको छैन ।
कांग्रेस लगाएतका अन्य दलहरु पनि उम्मेदवार टुङ्ग्याउनमा व्यस्त देखिन्छन् । यसै बिचमा कांग्रेसले सुरु गरेको उक्त अभियान निर्वाचन केन्द्रित पनि हुन सक्ने विश्लेषण गरिएको छ । शिर्ष दलसहित अन्य दलले उम्मेदवार छनोट गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने हालसम्म कुनै ठाउँमा पनि उम्मेदवार टुङ्ग्याउन सकेको छैन् ।
असोज ६ गते सुरु गरेको अभियान वर्षातका कारण स्थगन भएकोमा कात्तिक ३० गतेदेखि फागुन ७ गतेसम्मका लागि अभियान चितवनबाट पुन सञ्चालन गरेको छ । अभियानका लागि चितवनमामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य इन्जिनियर मधु आचार्य पुगेका छन् ।
केन्द्रीय प्रतिनिधिका आचार्यको उपस्थितिमा सात पालिका र ९८ वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनालले जानकारी दिएका छन् । जिल्लाले सातै पालिका र ९८ वटै वडामा महाधिवेशन, महासमिति सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला कार्यसमितिका सदस्यलाई प्रतिनिधिका रुपमा खटाइएको उनले बताए ।
खटाइएका प्रतिनिधिले मंसिर १० गते एकैपटक सबै वडा तहमा बैठक राखेर अभियानको सुरुवात गर्ने छन् । यस्तै वडा, क्षेत्रीय समिति, प्रदेश समितिलगायतका संरचनाको बैठक भेलालगायत काम सञ्चालन गरिनेछ । यससँगै अभियानका क्रममा आम जनताका गुनासो सुनेर केन्द्रीय समितिमा प्रतिवेदनका रुपमा पेस गरिने केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।
जनताका गुनासोसँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने उनको भनाइ छ । कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास आचार्यको छ । जनताका जायज गुनासो भए सम्बोधन गर्दै समाधानको पाटोमा पार्टीलाई लैजान अभियान फलदायी हुने उनले बताए ।