उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, कस्तो छ दलहरूको तयारी ?-Sutra News

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, कस्तो छ दलहरूको तयारी ?

शनिबार, १ मंसिर २०८१

शनिबार, १ मंसिर २०८१

काठमाडौँ । आगामी मंसिर १६ गते निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन गर्ने तयारी पूरा गरेको छ । यसका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदै छ ।



बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए ।

सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनय दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।

उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापन भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता अर्यालले जानकारी दिए ।

मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनय पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदै छ ।

उम्मेदवारी चयनमा दलहरू

निर्वाचन मिति नजिकिएसँगै सत्तारुढ दल नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । शनिबार एमालेले ४२ पदका लागि उमेदवार हुने व्यक्तिका नाम सार्वजनिक गरेको हो ।

स्थानीय तहमा ४४ पद रिक्त भए पनि एमालेले ४२ स्थानमा उम्मेदवार टुंगो लगाएको हो । पार्टीले दुई उम्मेदवार चयन गर्न बाँकी छ ।

एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले पनि १३ उम्मेदवार टुंगो लगाएको छ । तल्लो कमिटीबाट नाम आउने क्रम जारी रहेकाले शनिबार साँझसम्म उम्मेदवार टुंगो लाग्ने पार्टीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

यता, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाउन बाँकी छ । तर, सुदूरपश्चिम प्रदेशका केही स्थानमा उम्मेदवार टुंगो लागगेको छ । कांग्रेसले बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्षमा कुन्तिसरा शाहीलाई प्रत्यासी बनाउने निर्णय गरेको छ ।

यसैगरी, कांग्रेसले रिक्त भीमदत्त नगरपालिका ६ मा प्रकाशबहादुर चन्द, डोटी पूर्वीचौकी गाउँपालिका ६ मा मोहन थापा, दार्चुलाको दुहु गाउँपालिका ५ मा धनबहादुर कुँवरलाई वडध्यक्षको प्रत्यासी बनाउने निर्णय गरेको छ । बझाङको सुर्मा गाउँपालिका ४ को वडाध्यक्ष पदमा भने निर्णय हुन बाँकी छ ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका केही क्षेत्रका लागि मात्रै उम्मेदवार चयन गरेको छ । जसमा स्वामीकात्तिकखापरको उपाध्यक्षमा राजकुमारी विक रचना, सुर्मा ४ मा पुष्करबहादुर बोहरा, पूर्वीचौकी ६ मा देवीलाल थापा, दुहु ५ मा वीरसिंह कार्की र भीमदत्तनगर ६ को वडाध्यक्षमा नानाराम कोलीलाई प्रत्यासी बनाउने निर्णय गरिएको छ ।

यसैगरी अन्य साना दलहरूले पनि आफ्नो उम्मेदवारी चयन गर्ने कामलाई तीव्रता दिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केही स्थानमा उम्मेदवार चयन गरेको छ ।

कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ ।

नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजारसम्म खर्च गर्न सक्नेछ ।

महानगरका वडाध्यक्ष पदका उम्मेदवारले तीन लाख, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले दुई लाख र गाउँपालिकाका वडाध्यक्षले एक लाख ५० हजार खर्च गर्न सक्नेछ । उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट