‘पूर्ण बहादुरको सारङ्गी’मा त्रिपक्षीय आरोप प्रत्यारोप, गैरकानूनी काम गर्नेलाई बोर्डको चेतावनी-Sutra News

‘पूर्ण बहादुरको सारङ्गी’मा त्रिपक्षीय आरोप प्रत्यारोप, गैरकानूनी काम गर्नेलाई बोर्डको चेतावनी

आइतबार, २ मंसिर २०८१

आइतबार, २ मंसिर २०८१

काठमाडौँ । इजाजत खारेज भएका फिल्म हलहरूबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले आफ्नो शोहरू हटाएको छ । गलत व्यापारिक तथ्यांक पेश गरेको भन्दै फिल्म उतारिएको हो ।



यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण कम्पनीले गलत व्यापारिक तथ्यांक दिएका हलको नाम सार्वजनिक गरेको थियो । ती हलहरूबाट आफ्नो फिल्मको प्रदर्शन हटाएको कम्पनीले जनाएको छ ।

यता, चलचित्र विकास बोर्डले केही हलहरूको इजाजत खारेज भइसकेको जनाएको हो । ‘चलचित्र घरहरूले प्रचलित कानूनको उल्लघंन गर्दै लुकिछिपी चलचित्र प्रदर्शन गर्ने र गराउने, बक्स अफिस प्रणालीलाई वेवास्ता गरी म्यानुअल टिकट वितरण गरी आर्थिक ऐन, २०८१ चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ र सो को नियमावली चलचित्र नियमावली, २०७५ मा रहेको प्रावधान विपरीत गतिविधि सञ्चालन गरिरहेको बुझिन आएको छ,’ बोर्डले भनेको छ, ‘गैरकानूनी क्रियाकलापमा संलग्न चलचित्र घरहरूलाई तत्काल छानविन गरी कानूनी कारवाही प्रक्रिया अघि बढाउने स्पष्ट जानकारी गराउँदछौँ ।’

यता, हलहरूको छाता संगठन नेपाल चलचित्र संघले ‘सेभेन सिस’लाई कारबाही गर्ने चेतावनी दिएको छ । बिना प्रमाण गलत तथ्यांक दिएर गम्भीर भन्ने आरोप लगाएको भन्दै प्रमाण लिएर उपस्थित हुन ‘पूर्ण बहादुरको सारङ्गी’का निर्मातालाई चुनौती दिएको हो ।

प्रमाणबिना गलत आरोप लगाएको भन्दै संघले चलचित्र संघका सदस्यको मानमर्दन गरेको उल्लेख गरेको छ । संघले ‘पूर्ण बहादुरको सारङ्गी’का निर्मातालाई कारबाही गर्ने जनाएको हो ।

संघले चलचित्रको व्यापारिक रिपोर्ट माग्ने र चलचित्र चलाउने वा उतार्ने अधिकार निर्मातामा नभई वितरकमा हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट