काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कीर्तिपुर नगरपालिकाको स्थानिय तह उपनिर्वाचनमा पछि हटेको छ । मेयर पदका लागि रास्वपाले उम्मेदवारी नदिने भएको छ ।
मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताएका छन् । ‘हाम्रो उम्मेदवारी हुँदैन । स्वतन्त्र उम्मेवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ सभापति विष्ट भने ।
आज बिहान १० बजेदेखि नै उम्मेदवारी दर्ता सुरु भएको छ । यसबिच अन्य दल र स्वतन्त्र व्यक्तिले आफ्नो उम्मेदवारी दर्ता गराइरहेका छन् ।
कीर्तिपुरमा किन पछि हट्यो रास्वपा ?
पहिलो पटक स्थानिय तहको निर्वाचनमा होमिएको रास्वपा यस उपनिर्वाचनलाई परिक्षणको रुपमा समेत हेर्दैछ । नयाँ दल भएकाले पनि उम्मेदवारी दिएको स्थानमा जित्नै पर्ने दवाबमा रास्वपा देखिएको छ ।
कीर्तिपुरका लागि जयराम कार्की सर्वसम्मत रुपमा सिफारिस भएर आएका थिए । तर अन्तिम समयमा उम्मेदवारी नदिने निर्णय गर्नु पार्टी तयार नभएको वा उपयुक्त उम्मेदवार नभएको भन्ने नै रहनसक्छ । रास्वपा काठमाडौं सभापति विष्टले पार्टीले कुनै एक स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएकाले रास्वपाले उम्मेदवारी नदिएको भनेता पनि कसलाई समर्थन गर्ने भन्ने टुङ्गो समेत लागेको छैन् ।
उता कार्तिक २ गतेदेखि सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा छन् । सोहि कारण पनि निर्वाचनबारे पार्टीमा अन्योलता रहँदै आएको थियो ।
कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।
कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।
एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।