सत्ता यात्रामा सहकार्य, चुनावमा भिड्दै कांग्रेस-एमाले-Sutra News

सत्ता यात्रामा सहकार्य, चुनावमा भिड्दै कांग्रेस-एमाले

आइतबार, २ मंसिर २०८१

आइतबार, २ मंसिर २०८१

काठमाडौँ । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सत्ता सहकार्यमा एकै ठाउँमा उभिएको छ । गत असार १७ गते मध्यरातमा दुई दलका नेतृत्वबीच सात बुँदे सहमति भएपछि दुई विपरीत ध्रुवका दलहरूबीच सत्ता सहकार्य बन्ने आधार भएको हो ।



कांग्रेस-एमालेले केन्द्रसहित प्रदेश सरकारमा समेत आलोपालो प्रणालीमा सत्ता चलाइरहेको छ । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएको कांग्रेसले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा आआफ्नै उम्मेदवार उठाएको छ ।

सत्ता पक्षमा रहेका दलहरू आआफ्नै उम्मेदवारलाई जिताउने गरी उपनिर्वाचनमा होमिए पनि प्रतिपक्षी दलहरूले केही स्थानमा सहकार्य गर्ने भएको छ ।

यस उपनिर्वाचनमा केन्द्रविन्दु बनेको काठमाडौँको कीर्तिपुर नगरपालिकामा कांग्रेसका उम्मेदवारसँग एमालेका उम्मेदवार भिड्ने भएका छन् । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । अर्का प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने निर्णय गर्दै कसलाई साथ दिने भन्नेबारे छलफल गर्ने जनाएको छ ।

कीर्तिपुरको मेयरमा एमालेका डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धामा सत्ता सारथि दल कांग्रेसका कृष्णमान डंगोल देखिएका छन् । यता, एकीकृतको साथमा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजतन्त्र पार्टी (राप्रपा)बाट ध्रुव महर्जन उम्मेदवारी दिएका छन् ।

स्थानीय तहमा रिक्त ४४ स्थानमध्ये अधिकांश स्थानमा कांग्रेसको प्रतिद्वन्दी एमाले देखिएको छ । यसबीच, एमालेले जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा कांग्रेसका उम्मेदवारलाई साथ दिने भएको छ ।

कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुख मात्रै हुने भएकाले यस स्थानमा कांग्रेसको एकल बहुमत छ ।

चुनावपछिको सत्ता यात्रा

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको आयु गन्दै बसेको बताएका छन् । केही दिनअघि ‘कान्तिपुर कन्क्लेभ २०२४’को समापन कार्यक्रममा बोल्दै उनले आफ्नो पद कहिलेसम्म हुने भन्नेबारे बोलेका हुन् । यसबीच, चुनावी तालमेलबारे मौन बसे ।

यता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार उल्टिएर आफ्नो सरकार बन्ने बताउँदै आएका छन् । शनिबार भएको एक कार्यक्रममा उनले दुई ठूला दलहरूको सत्ता यात्रा लामो समय नजाने संकेत गर्न भ्याए ।

प्रचण्डले भनेका थिए, ‘अहिले पनि हाम्रो संख्या (३२ सिट) म्याजिक नै छ, किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी, त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ, यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, त्यसैले चिन्तित हुने कुरा छैन ।’

यसअघिका कार्यक्रममा पनि प्रचण्डले दुई ठूला दलहरूको सत्ता सहकार्य लामो समय नजाने बताउँदै आएका थिए । उनले आफ्नो भनाइलाई उपनिर्वाचनको मुखमा समेत दोहोर्याउन भ्याए । जसले सत्ता गठबन्धनभित्र असर पर्ने देखिन्छ ।

यसअघि प्रचण्डले दुई ठूला दलहरूको समर्थनमा प्रधानमन्त्री बन्दै आएका थिए । अहिले उनी सरकार परिवर्तन गराएर सत्तामा जाने बाटो खोजिरहेका छन् । यसैबीच, सत्ता साझेदारी दुई ठूला दलहरूको चुनावी भिडन्तमा उत्रिएको छ ।

चुनावी प्रक्रियामा कांग्रेस-एमालेले कसरी आफ्ना उम्मेदवारलाई जिताउँछन् भन्ने आधारमा सरकारभित्र असर पर्न सक्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट