काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हुम्लाको सर्केगाड गाउँपालिकाको उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई उम्मेदवारी नदिन धम्की आएको जनाएको छ ।
उम्मेदवारी मनोनयनको तयारी भइरहँदा शनिबार दिउँसो सुजाता थापा र उनका श्रीमान् बल थापालाई करिब ४५ जनाको समूहले घरबाटै अपहरणको शैलीमा अज्ञात स्थलमा लगेको रास्वपाको दाबी छ ।
रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रास्वपाका उम्मेवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुन सक्नेसम्मको यातना दिइएको पाइएको र त्यसपश्चात् निज सुजाता थापा र उहाँको परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ ।’
रास्वपाले यस कार्यमा नेपाली कांग्रेसका सदस्यहरू संलग्न रहेको उल्लेख गरेको छ । सर्केगाडमा चुनावी प्रचारप्रसारमा खटिएका रास्वपाका केही सदस्यलाई दुर्व्यवहार र कुटपिट भएको विज्ञप्तिमा भनिएको छ ।