पाथीभरा मन्दिर क्षेत्रबाट हजार किलो फोहर संकलन-Sutra News

पाथीभरा मन्दिर क्षेत्रबाट हजार किलो फोहर संकलन

आइतबार, २ मंसिर २०८१

आइतबार, २ मंसिर २०८१

काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बृहत् सरसफाइ कार्यक्रममार्फत करिब एक हजार किलो फोहर संकलन गरी व्यवस्थापन गरिएको छ ।



पाथीभरा क्षेत्र विकास समितिले आयोजनामा गरेको कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी, समितिका सदस्य, कर्मचारी र फेदी क्षेत्रका स्थानीयसहित १३० जना सहभागी थिए ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार सरसफाइका क्रममा प्लास्टिक, फलाम, टिन र सिसाजन्य फोहर संकलन गरी व्यवस्थापन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पाथीभरा क्षेत्रको वातावरणीय स्वच्छतालाई कायम राख्न प्रशासनको सहयोगमा सरसफाइ गरिएको भन्दै यस्ता कार्यक्रममा प्रशासनको सधैँ सहयोग रहने प्रतिबद्धता जनाए ।

उनले पाथीभरा आउने भक्तजन र पर्यटकलाई पनि फोहर नगर्न आग्रह गर्दै पाथीभरालाई स्वच्छतालाई कायम राख्न सबैले समर्थन गर्नु पर्नेमा जोड दिए ।

सशस्त्र प्रहरी बल १ नम्बर गुल्म कञ्चनजंघाका प्रहरी नायब उपरीक्षक नरेश महर्जनले मन्दिर परिपरमा स्वच्छता कायम राख्न र पर्यटकलाई आकर्षित गर्न सुरक्षा निकायबाट सधैँ सहयोग रहने बताए ।

दसैँ र तिहारको मुख्य समयमा भक्तजनको घुइँचो बढी हुँदा पाथीभरा क्षेत्रमा धेरै फोहर जम्मा भएकाले समितिले यो बृहत् सरसफाइ कार्यक्रम गरेको हो ।

आगामी दिनमा प्राकृतिक वातावरण स्वच्छ राख्न सरसफाइ कार्यक्रमलाइ निरन्तरता दिइने समितिका कार्यकारी निर्देशक हाङबाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट