काठमाडौँ । भारतको छत्तीसगढ राज्यमा भारतीय प्रहरी र नक्सलवादी समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएको छ ।
छत्तीसगढ राज्यको अबुझमाड जंगलमा शनिबार सशस्त्र झडप भएको र झडपका क्रममा पाँच नक्सलवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बताएको छ । योसँगै सन् २०२४ मा भएको द्वन्द्वमा ज्यान गुमाउनेको संख्या दुई सय पुगेको छ ।
सीमान्तकृत आदिवासीको अधिकारका लागि लडिरहेको बताउने नक्सलवादी आन्दोलन भनेर चिनिने विद्रोहमा १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
“सशस्त्र झडपमा पाँच माओवादी मारिएका छन्,’ वरिष्ठ प्रहरी अधिकारी पी. सुन्दरराजले एएफपीसँग भने । मारिनेमा दुई जना महिला भएको उनको भनाइ थियो ।