माओवादीका उम्मेदवारलाई हराउन कांग्रेस-एमालेले गर्यो गठबन्धन-Sutra News

माओवादीका उम्मेदवारलाई हराउन कांग्रेस-एमालेले गर्यो गठबन्धन

आइतबार, २ मंसिर २०८१

आइतबार, २ मंसिर २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बलियो आधार मानिने क्षेत्र रुकुम पूर्वमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ ।



यसअघि २०७९ मा सम्पन्न आम निर्वाचनमा समेत माओवादीको आधार भूमि मानिने यी क्षेत्रका केही स्थानमा तालमेल गरिएको थियो । यस उपनिर्वाचनमा पनि कांग्रेस र एमालेले पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडाध्यक्षमा साझा उम्मेदवार बनाएर उम्मेदारी दर्ता गरेको हो ।

सहमतिअनुसार एमाले उम्मेदवार केशकुमारी तुलाचनले कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने भएकी हुन् । उनी एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्य हुन् ।

यस्तै, वडामा सूर्य चुनाव चिन्हमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदार बनाउने सहमति दुई दलबीच भएको छ । सहमति पत्रमा कांग्रेस जिल्ला सभापति केशरमान रोका र एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले हस्ताक्षर गरेका छन् ।

गत निर्वाचनमा पालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा निर्वाचित भएकी थिइन् । वडा नम्बर २ का माओवादीकै जसबहादुर श्रीपाली विजयी भएका थिए । उनीहरू दुवै जनाको एकसाथ दुर्घटनामा परी मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट