पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली, राष्ट्रिय झण्डा ओढाएर सम्मान (फोटोहरू)-Sutra News

पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली, राष्ट्रिय झण्डा ओढाएर सम्मान (फोटोहरू)

सोमबार, ३ मंसिर २०८१

सोमबार, ३ मंसिर २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।



त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए ।

“नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ”, उनले भने ।

यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यस क्रममा उनले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुंगानाले भूमिका खेलेको स्मरण गरे ।

“उहाँको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ”, सभापति देउवाले भने ।

दिवङ्गत ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानवअधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति छ ।

यसअघि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट