‘प्रतिपक्षले रुचाएका सभामुख ढुङ्गाना’-Sutra News

‘प्रतिपक्षले रुचाएका सभामुख ढुङ्गाना’

सोमबार, ३ मंसिर २०८१

सोमबार, ३ मंसिर २०८१

काठमाडौँ । प्रजातन्त्र पुनः स्थापनापछिको आमनिर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेस र सशक्त प्रतिपक्षका रूपमा रहेको नेकपा एमालेबीच संसद्मा देखिएको रस्साकस्सीलाई सन्तुलित बनाउन तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले ठूलो भूमिका खेले ।



विं.सं. २०४८ को प्रतिनिधिसभा निर्वाचनमा १११ सिटसहित कांग्रेस बहुमतमा थियो । पार्टीका सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा रहेको ६८ सिटसहितको प्रतिपक्षी दलबीच सदनमा हुने आरोप प्रत्यारोप तथा बहसलाई सन्तुलित तुल्याएका कारण उनी प्रतिपक्षीले रुचाएको सभामुखका रूपमा स्थापित भए ।

राजनीतिक दलका नेताहरूले करिब तीन वर्ष सभामुखको जिम्मेवारीमा रहँदा ढुङ्गानाले संसदीय लोकतान्त्रिक मूल्य मान्यतालाई सन्तुलित रूपमा स्थापित गराउन सशक्त भूमिका निर्वाह गरेको भन्दै स्मरण गरे ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

‘नेपालको राजनीतिमा अपूरणीय क्षति’- एमाले

पूर्वसभामुख ढुङ्गाना भनेको नेपालको लोकतान्त्रिक योद्धा हुनुहुन्छ । उनले लोकतन्त्र प्राप्ति र सुदृढीकरणमा योगदान दिनुभयो । उहाँले राजनीतिक बन्दीका रूपमा जेल बस्नु भयो र अरू नेताहरूलाई छुटाउनका लागि लागिपर्नु भयो ।

बहुदल ल्याउनका लागि सङ्घर्षशील योद्धा, वरिष्ठ अधिवक्ताका रूपमा रहनु भयो । प्रजातन्त्र पुनर्बहालीपछि प्रतिनिधिसभाको करिब तीन वर्षको अवधिमा उहाँले आफ्नो क्षमता देखाउनु भयो । तथापि, त्यो क्षमताअनुसारको राजनीतिक भूमिका भने पाउनु भएन ।

आफूलाई लागेको कुरा स्पष्ट बोल्ने बानीका कारण पार्टीले पछिल्लो समय भूमिका दिएन । उहाँ अत्यन्त सफल सभामुख हो । सन्तुलित ढङ्गले संसद्लाई सञ्चालन गर्न सक्ने खुबी भएको, दूरदृष्टि र लोकतन्त्रप्रति प्रतिबद्ध सभामुख हुनु हुन्थ्यो ।

सफल राजनीतिक व्यक्तित्वका साथै मानवअधिकारवादी पनि हुनुहुन्थ्यो । लोकतन्त्रका लागि आजीवन योगदान दिनुभएका ढुङ्गानाको देहवसान नेपालको राजनीतिमा दुःखद र अपूरणीय क्षति हो ।

‘सत्ता सरकारको र संसद् प्रतिपक्षको हो भन्नेमा स्पष्ट’- संसद् सचिवालय

ढुङ्गाना असल विधयक र राजनीतिज्ञ हो । लोकतन्त्र, प्रजान्त्र र सामाजिक न्यायको पक्षमा उभिने उहाँ कसैप्रति अन्याय नहोस् भन्ने भावना राख्नु हुन्थ्यो ।

मानव अधिकारवादीका रूपमा पनि आफूलाई स्थापित गर्नुभयो । उहाँ सफल सभामुख हो । उहाँले ‘सरकार भनेको सत्ता सञ्चालनका लागि हो, संसद्मा विपक्षीको आवाज उठ्नुपर्छ, विपक्षीलाई समय दिनुपर्छ र उसका कुरा सुन्नुपर्छ’ भन्ने नयाँ लोकतान्त्रिक मूल्यमान्यता ल्याउनु भयो । ‘बहुमतका आधारमा पेल्ने’ सोच अस्वीकार गर्दै त्यसलाई व्यवहारमा उतार्नु भयो ।

राजनीतिक दलहरूले दमनाथ ढुङ्गानालाई आ-आफ्ना ढङ्गले प्रयोग गरे पनि उहाँका विचार र विशेषतालाई आत्मसात् गरेनन् । मानवअधिकार, मूल्यमान्यता, स्वतन्त्रता, न्यायिक मूल्यमान्यता अहिले पनि अभ्यासमा छैनन् ।

उहाँको नेतृत्वमा रहेको संसद्को ओज लामो समयसम्म कायम रहन सकेन । ढुङ्गानाको नेतृत्वमा रहेको संसदीय अध्ययन अनुसन्धान केन्द्रमार्फत संविधान संशोधनको बहस चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट