काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा एक्लाएक्लै चुनाव लड्ने घोषणा गरेका सत्तागठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी तालमेल गरेका छन् । दुई दलले दुई जिसस प्रमुख र एक पालिकामा सहकार्य गरेका हुन् ।
ओखलढुंगा जिससमा एमालेले उम्मेदवारी नदिएपछि कांग्रेसका टेकराज भट्टराई निर्विरोध भइसकेका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगामा एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचन कांग्रेसको रुख चिह्न लिएर उम्मेदवार बनेकी छिन् । यसअघि यहाँ माओवादीले जितेको थियो । माओवादीविरुद्ध कांग्रेस–एमालेको तालमेल भएको हो ।
जिल्लास्थित कांग्रेस–एमालेको राजनीतिक संयन्त्रबिच तुलाचनले कांग्रेस चिह्नबाट चुनाव लड्ने र वडा नं. २ को वडाध्यक्षमा एमाले उम्मेदवार जीवन रोकालाई कांग्रेसले सघाउने गरी स्थानीय तालमेल भएको हो । त्यस्तै, कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा एमालेले कांग्रेसलाई सघाउने भएको छ । कांग्रेसले टीका चौधरीलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले निर्वाचनमा तालमेल नगरेको दाबी गरेको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले जित्ने निश्चित भएको स्थानमा एमालेले हैसियत नबिग्रियोस् भनेर समर्थन गरेको बताए । कतिपय स्थानमा स्थानीय आवश्यकताको आधारमा निर्वाचनमा सहकार्यको निर्णय भएको हुन सक्ने उनले बताए ।
‘उपनिर्वाचनमा कांग्रेस र एमालेले सहकार्य गरेका छैनौँ । जहाँ हाम्रो जित्ने निश्चित थियो, त्यो ठाउँमा एमालेले आफ्नो हैसियत नबिग्रियोस् भनेर हामीलाई समर्थन गरेको स्थिति छ । जहाँ कांग्रेसको बाहुल्य देखिएको छ, त्यहाँ एमाले प्रतिस्पर्धामा नगएको हो । कतिपय स्थानमा भने स्थानीय आवश्यकताको आधारमा स्थानीय तहमै साथीहरूले निर्णय गर्नुभएको हुन सक्छ,’ उनले भने ।
ओखलढुंगामा कांग्रेसको एकल बहुमत पुग्ने अवस्था भए पनि एमालेले सहयोग गरेको छ भने कैलालीमा एमालेले सहयोग गरेपछि जिससमा कांग्रेस उम्मेदवार विजयी बन्नेछन् । दुवै जिल्लामा स्थानीय संयन्त्रहरूबिचको सहमतिमा तालमेल भएको एमाले केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख नीरज आचार्यले बताए । ‘सबैतिर एक्लाएक्लै मित्रवत् प्रतिस्पर्धा गर्ने केन्द्रको नीति हो । हामीले तालमेलका लागि कुनै निर्देशन दिएका छैनौँ, तर अहिले जिल्ला तहमा दुई दलको राजनीतिक संयन्त्र बनेका कारण त्यहाँ छलफल र समझदारी भएर स्थानीय तालमेल भएको हो,’ आचार्यले भने ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेलले भने चुनावी तालमेल नगर्ने भाषण गरेर कांग्रेस र एमालेले छलकपटको राजनीति गरेको दाबी गरे । मुख्य प्रतिस्पर्धी दाबी गर्ने दलले चुनाव चिह्नसमेत अर्कोको लिनुले झुटो बोल्नु नै राजनीति हो भन्ने भाष्य बनाएको उनले दाबी गरे । सिद्धान्त र विचार नमिल्ने दलबिच प्रतिपक्ष दललाई हतोत्साही गर्ने उद्देश्यले एकले अर्को प्रतिस्पर्धी दलको चुनाव चिह्न लिनु राजनीतिक स्खलनको नमुना भएको उनले बताए ।
‘कांग्रेस–एमालेले निर्वाचनमा तालमेल नगर्ने भन्दै आए । अन्ततः चुनाव चिह्नसमेत अर्को मुख्य प्रतिस्पर्धी दलको लिने गरीसमेत तालमेल गरे । यसले झुटो बोल्नु नै राजनीति हो भन्ने भाष्य बन्यो । राजनीति भनेको छलकपट हो भन्ने देखियो । त्यहाँ न राजनीतिक सिद्धान्त, न विचार केही पनि छैन । यो त राजनीतिक स्खलनको एउटा नमुना हो । दुई ठुला दल, त्यसमाथि मुख्य प्रतिस्पर्धीले एकले अर्कोको चुनाव चिह्न लिएर उठ्नेजस्तो राजनीतिक विकृति अरू के हुन सक्छ र ?’ पोखरेलले प्रश्न गरे ।
कीर्तिपुरमा माओवादीलाई एकीकृत समाजवादी र जसपाको साथ
माओवादी, एकीकृत समाजवादी र जसपाले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुरमा सहकार्य गरेका छन् । माओवादीका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादी र जसपाले समर्थन गरेका छन् । कीर्तिपुरको मेयरमा समर्थन गरेको एकीकृत समाजवादीलाई काठमाडौं वडा नम्बर १६ को वडाध्यक्षमा माओवादीले समर्थन गरेको छ । काठमाडौं १६ मा एकीकृत समाजवादीका मीनबहादुर मानन्धर उम्मेदवार छन् ।
यस्तै, कीर्तिपुर वडा नम्बर ४ को वडाध्यक्षमा माओवादीका ई. नारायण विष्टलाई जसपाले समर्थन गरेको छ । कीर्तिपुर वडा नम्बर १ को वडाध्यक्षमा जसपाका सरलगोपाल महर्जन माओवादीको चुनाव चिह्नबाट उम्मेदवार छन् ।
उम्मेदवारलाई धम्क्याइयो : रास्वपा
रास्वपाले उपनिर्वाचनमा आफ्नो उम्मेदवारमाथि सरकारबाटै असुरक्षा बढेको दाबी गरेको छ । रास्वपा निर्वाचन परिचालन समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना उम्मेदवारलाई राज्यबाटै धाकधम्की र अपहरणको प्रयास भएको बताए ।
हुम्ला र मधेश प्रदेशका केही स्थानमा रास्वपाबाट उपनिर्वाचनमा उम्मेदवार बन्न लागेका व्यक्तिलाई सत्तारूढ कांग्रेसका सदस्यहरूले दुव्र्यवहार र कुटपिटसमेत गरेको उनको भनाइ थियो । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिन तयारी गरिरहेकी सुजाता थापा र उनका श्रीमान बल थापालाई शनिबार दिउँसो करिब ४०/४५ जनाको समूहले घरबाटै अपहरणको शैलीमा अज्ञात स्थलमा लगेको रास्वपाले जनाएको छ ।
रास्वपाले जिसस प्रमुख सहित १८ स्थानमा उमेद्वारी दिएको छैन ।