काठमाडौँ । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म देववाणीको प्रदर्शन स्थगित भएको छ । सोही दिन ‘अग्नी दहन’ र ‘तेल भिसा’को प्रदर्शन मिति तय भएको छ ।
एकैदिन तीन वटा फिल्महरू प्रदर्शनको तयारी हुँदा ‘देववाणी’को प्रदर्शन स्थगित भएको हो । पछिल्लो समय नेपाली फिल्ममा उत्साहपूर्ण व्यापार भइरहँदा यसअघि प्रदर्शन भएका फिल्महरूले राम्रो व्यापार गरिरहेको छ ।
तिहारको लक्ष्मी पूजाको दिनदेखि प्रदर्शन भएको ‘पूर्ण बहादुरको सारङ्गी’ले तेस्रो हप्तासम्म रेकर्डमाथि रेकर्ड बनाउँदै हलहरूमा शो पाउँदै आएको छ । उक्त फिल्मले हलहरूका उच्च शो पाउँदै आएको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ फिल्मको बम्पर प्रदर्शन हुँदा कार्तिक ३० गतेदेखि आउन लागेको फिल्म ‘केटी हराएको सूचना’को प्रदर्शन स्थगित भएको थियो । यो फिल्म कहिले प्रदर्शन हुने भन्ने टुंगो लाग्न बाँकी छ ।
यसैबीच, फिल्मी ‘ह्रस्व–दीर्घ’ कार्तिक ३० गतेदेखि प्रदर्शनमा जारी छ । फिल्मले राम्रै शोहरू पाउँदा दर्शकहरूको मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ र ‘ह्रस्व–दीर्घ’को प्रदर्शनका बीच शोहरूमा चाप हुँदा ‘देववाणी’का निर्माण पक्षले प्रदर्शन मिति सार्न लागेको हो ।
बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’मा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारीलगायत कलाकारको अभिनय छ ।