सरकारको अपरिपक्व निर्णयले जनतालाई फेरि सास्ती !-Sutra News

सरकारको अपरिपक्व निर्णयले जनतालाई फेरि सास्ती !

सोमबार, ३ मंसिर २०८१

सोमबार, ३ मंसिर २०८१

काठमाडौँ । सधै जस्तै आज (सोमबार) बिहान सबै देशबासी आफ्नो दैनिक सुरु गर्दै थिए । विद्यार्थीहरू स्कुल जाँदै थिए । कर्मचारीहरू कार्यालय गए । निजी संस्थाहरूको कार्यालय खुल्दै थिए । सार्वजनिक संस्थानदेखि निजी क्षेत्रका संस्थाहरू खुलेसँगै सरकारले एक सूचना सार्वजनिक गर्‍यो ।



सरकारले सार्वजनिक गरेको सूचना थियो, आज सार्वजनिक बिदा । सरकारको निर्णयसँगै विद्यार्थीदेखि सरकारी निकायकै कर्मचारीहरू अलमलमा परे । अन्ततः सरकारको निर्णय मान्नै पर्यो । योसँगै सबै आफ्नो घर फर्किए । तर, निजी संस्थाका विद्यालयहरूले आफ्नो पढाइ जारी राख्यो ।

सरकार नै अलमलमा पर्ने गरी भएको घटनाको प्रमुख कारण थियो- पूर्वसभामुख दमननाथ ढुंगानाको निधन । उनको कलेजोसँग सम्बन्धिन रोगका कारण आइतबार दिउँसो निधन भएको थियो ।

पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय ढुंगानाको निधन भए पनि सरकार सोमबार बिहानसम्म बेखबर जस्तै बन्यो । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले हतारमा आफ्नो सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक आह्वान गरे ।

बैठकमा पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा देशको सम्पूर्ण कार्यालय सञ्चालनमा आइसकेको थियो ।

उनले पूर्वसभामुख ढुंगानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेलेको भूमिकाको बैठकले कदर गरेको उल्लेख गरे ।

‘पूर्वसभामुख ढुंगानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ,’ उनले भने । सरकारले राजकीय सम्मान व्यवस्थापनको जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको थियो ।

यो मात्रै होइन, सरकारको अपरिपक्व निर्णय यसअघि पनि भएको थियो । गत असारको १७ गते दुई ठूला दलहरूबीचको सहमतिमा बनेको करिब दुई तिहाईको सरकार अपरिपक्व हुँदा ठूलो जनधनको क्षति भएको थियो ।

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २५० जनाभन्दा बढीले ज्यान गुमाए । अर्बौं भौतिक संरचनाको क्षति भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाले बारम्बार ठूलो वर्षासँगै जनधनको क्षति हुने भन्दै सचेत गराउँदै आएको थियो । उक्त समाचारलाई सञ्चार माध्यमले पनि सोही स्थानको महत्व दिँदै आएको थियो । तर, सरकारले कुनै तयारी गर्न सकेन ।

यसैबीच, प्रधानमन्त्री ओली असोजको ४ देखि १४ गतेसम्म संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका थिए । नेपालमा भीषणा बाढी पहिरो हुँदा उनले अमेरिकाबाट आफ्नो सामाजिक सञ्चालमा आफूले गरेको गतिविधिबारे जानकारी दिँदै बसे । यस पीडादायी अवस्थामा जनताहरू अभिभावकविहीन बने ।

अमेरिकाबाट फर्केपछि प्रधानमन्त्री अ‍ोलीले मौसम पूर्वानुमान महाशाखाले कहाँ-कहाँ पहिरो जान्छ ? नभनेको भन्दै पन्छिन खोजे । ‘एउटा कुरा म तपाईलाई सोध्न चाहन्छु, ब्रोडकास्ट गरेको छ, रेड एरिया भनेर हो ? तर कहाँ-कहाँ पहिरो जान्छ ? त भनेको थिएन, गएपछि त थाहा हुने हो, काठमाडौँमा यस्तो डुबान हुन्छ ? भन्ने कुरा त थिएन,’ उनले भने ।

बाढी पहिरोमा भएको क्षतिमा आफ्नो कमजोरी भएको प्रधानमन्त्री ओली आफैले स्वीकारेका थिए । बाढी पहिरोबाट ठूलो क्षति भएकाे दुई महिना पूरा भए पनि दर्जनौँ व्यक्तिहरू अझै बेपत्ता छन् । घरबारविहीन भएकाहरूले बासस्थान पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट