काठमाडौं। ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा तथा बजार साँघुरिदै गएपछि पर्सा-बारा औद्योगिक करिडोरका एक दर्जनमध्ये ७ वटा सिमेन्ट उद्योग बन्द भएका छन् । तीन वर्षयता यहाँका सिमेन्ट उद्योग बन्द धमाधम हुन थालेका हुन् ।
हालसम्म कलश, इन्टरनेशनल, रिलायन्स, एडवान्स, आरएमसी, कृष्णा, स्टार सिमेन्ट उद्योग बन्द भइसकेका छन् । विश्वकर्मा, त्रिशक्ति, अम्बे, शुभश्री जगदम्बा र शालिमार सिमेन्ट उद्योग मात्र हाल आंशिक क्षमतामा सञ्चालनमा छन् ।
कलश सिमेन्ट उद्योगका सञ्चालक एवम् वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले आर्थिक शिथिलतापछि निर्माण कार्य ठप्प प्रायः भएको र होङ्शी, हुवासिन जस्ता ठूला उद्योग आक्रामक रूपले आएपछि प्रतिस्पर्धा गर्न नसक्दा करिडोरका सिमेन्ट उद्योग बन्द हुन थालेको बताए ।
कतिपय ठूला सिमेन्ट उद्योगले भारत तर्फ निकासी गरिरहँदा पर्सा-बारा करिडोरका उद्योगले भने मूल्यमै प्रतिस्पर्धा गर्न नसकेको अग्रवालको भनाई छ ।
करिडोरका साना सिमेन्ट उद्योगहरू ५० देखि १ सय करोड र ठूला उद्योग २ सयदेखि ३ सय करोड रुपैयाँ लगानीमा स्थापना गरिएको अग्रवालले बताए । करिडोरका ७ सिमेन्ट उद्योगहरू बन्द हुँदा १ हजार जनाले प्रत्यक्ष रूपमा रोजगारी गुमाएको पनि उनले बताएका छन् ।