काठमाडौँ । रुसले आइतबार राति युक्रेनमा १२० मिसाइल र ९० ड्रोनसहित ठूलो हमला गरेको छ । रुसी आक्रमणमा युक्रेनको पावर सिस्टमलाई निशाना बनाइएको छ । धेरै बिजुली प्लान्ट र ट्रान्सफर्मर क्षति पुगेको समाचारमा जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी मिसाइलले युक्रेनको नौ तले आवासीय भवनमा प्रहार गरेको बताएका छन् । बालबालिकासहित सर्वसाधारणको ज्यान गएको छ । रुसी आक्रमणमा हालसम्म १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणमा ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोनले युक्रेनको राजधानी किभ, डोनेस्क, ल्भिभ, ओडेसालगायतका धेरै भागलाई निशाना बनाएका थिए ।
रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको छ । न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै युक्रेनलाई आर्मी टेक्टिकल मिसाइल प्रणाली (एटीएसीएमएस) प्रयोग गर्न अनुमति दिएको पुष्टि गरेको छ ।
यो क्षेप्यास्त्रले तीन सय किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्छ । युक्रेनले यसलाई रुसी र उत्तर कोरियाली सेनाविरुद्ध प्रयोग गर्न सक्छ । नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि जो बाइडेनले यो ठूलो निर्णय लिएका छन् ।
उनले डोनाल्ड ट्रम्पले राष्ट्रपतिको सपथ लिएपछि यो निर्णय परिवर्तन हुने आशा व्यक्त गरेका छन् । एजेन्सी