काठमाडौँ । अहिले चर्चित भारतीय कलाकार प्रदीप रावत नेपालमा छन् । उनी पहिलो पटक अभिनय गरेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’का लागि नेपाल आएका हुन् ।
सोमबार कमलपोखरीस्थित ‘बिग मुभिज’ पुगेर दिउँसो २ः४५ बजेको शोमा फिल्म हेरेका दर्शकसँग साक्षात्कार गरे । उनी आफैले दर्शकलाई फिल्म कस्तो लाग्यो ? भन्दै प्रश्न गरे ।
दर्शक पनि प्रदीपलाई आँखैअगाडि देखेपछि खुसी हुँदै उनको नामको हुटिङ लगाए । उनले पनि दर्शकहरूले फिल्मलाई दिइएको माया देखेरै भेट्न आएको बताए ।
अन्तिममा सञ्चारकर्मीसँग कुराकानी गर्दै ‘ह्रस्व दीर्घ’ सानदार फिल्म बनेको बताए । फिल्म राम्रो चलेको देख्दा खुसी लागेको उनको भनाइ थियो ।
उनलाई पत्रकारले नेपाली कलाकार हुँदाको अनुभवबारे पनि प्रश्न सोधेका थिए । जसको जवाफमा उनले भने, ‘म नेपाली कलाकार हुनुमा गर्व गर्छु, म पहाडी हुँ, नेपाल पनि पहाड नै छ, यसैले हाम्रो डिएनए मिल्छ, अलिअलि मेरो अनुहार पनि नेपालीसँग मिल्छ, मलाई नेपाली कलाकार बनाइदिनु भएकोमा आभारी छु ।’
उनले भोलिका दिनमा पनि नेपाली फिल्म खेल्न चाहने बताए । प्रदीप जम्मा ४ दिनका लागि आफ्नी श्रीमतीसँग नेपाल आएका छन् । यो समयमा उनी हल हलमा गएर नेपाली दर्शकसँग भेट्ने छन् ।
उनले काठमाडौँका दर्शक मात्र नभएर बुधबार नेपालगञ्जका दर्शकसँग साक्षात्कार गर्न जाने र त्यही बाट आफ्नो देश फर्किने छन् ।