काठमाडौँ । आगामी मंसिर १६ गतेदेखि देशभर रिक्त रहेका स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्तारुढ दुई ठूला दलहरूले केही स्थानमा गठबन्धन गरी उम्मेदवारी दिएको छ ।
प्रतिपक्षी दलहरू पनि आफ्नै गुट बनाएर चुनावमा होमिएको छ । तर, प्रतिपक्षीमा रहेका नयाँ दलहरूले सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउन सकेन । आफ्नै पार्टीभित्रको समस्याका कारण नयाँ दलहरू आफ्नो अस्तित्व जोगाउन संर्घष गरिरहेको छ ।
आम निर्वाचनअघि स्थापना भई राष्ट्रिय दल बन्न सफल भएका दलहरूभित्र आन्तरिक विवाद सडकमा पुगेको हो । जसमा सबैभन्दा ठूलो समस्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा देखिएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र हुण्डी कारोबारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गत कार्तित २ गते काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछाने कास्की प्रहरी हिरासतमा छन् । यसैबीच, रुपन्देहीको प्रहरीले पनि अनुसन्धान गरी कानूनी कारबाही गर्ने तयारी गरेको छ । यता, काठमाडौँको एक सहकारीको रकमसमेत अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काठमाडौँले अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको छ ।
राजनीतिमा आउनुअघि आफ्नोसमेत शेयर रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट रकम ल्याएर अपचलन गरेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको हो । यसै कम्पनीका मूल मालिक जीबी राई फरार हुँदा लामिछाने थप समस्यामा परेका छन् ।
आफ्नो पार्टी सभापति लामिछाने पक्राउ परेसँगै संसदको चौथो ठूलो नयाँ दल रास्वपा समस्यामा परेको हो । सभापति लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभर आन्दोलन गर्दै आएको छ । यसबीच दलले आफ्नो सभापतिलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको बताउँदै आएको छ ।
पार्टी सभापतिलाई रिहा गर्न माग गर्दै गरेको आन्दोलनमा पुगेका उपसभापतिसहित सांसदहरूमाथि पनि मुद्दा दर्ता भएको छ । उनीहरूले अदालतमा अपहेलना गरेको भन्दै अदालतमा उजुरी परेको हो । यता, प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने कसैलाई नछाड्ने बताउँदै कारबाही हुने बताउँदै आएका छन् । जसले रास्वपाको अबको भविष्य कस्तो होला ? भन्ने अन्यौल उत्पन्न भएको छ ।
यस्तै, रास्वपा जस्तै नयाँ दल हो- जनमत पार्टी । डाक्टर सीके राउतको नेतृत्वमा स्थापना भएको यस पार्टीभित्र पनि समस्या उत्पन्न भएको छ । पार्टीकी समानुपातिक सांसद गोमा लाभ (सापकोटा)लाई पार्टी फुटाउने गतिविधि गरेको आरोप लागेको छ । जसका कारण उनलाई पार्टी अध्यक्षले सांसद पदबाट हटाउन प्रयास गर्दै आएका छन् ।
पार्टीले अनुशासनको कारबाही गरेकाले सभामुखले सूचना टाँस गरेर पदबाट हटाइएको जानकारी दिनु पर्ने जनमतको माग छ । यही मागसहित जनमतले सभामुख समक्ष चार पटक निवेदन दिएको थियो । तर, सांसद सापकोटाले यसबारे सार्वजनिक रुपमा आफ्नो धारणा पेश गरेकी छैनन् ।
नयाँ पार्टीको हैसियतमा संसदमा प्रवेश गरेको अर्को पार्टी हो- नागरिक उन्मुक्ति पार्टी (नाउपा) । प्रतिनिधिसभामा चार जना सदस्य रहेको यो पार्टीको विवाद अनौठो थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नै श्रीमान रेशम लाल चौधरीसँग विवाद गरिन् ।
पार्टी संस्थापकसमेत रहेका चौधरीले प्रतिपक्षीको भूमिकामा बस्नेभन्दा रञ्जिता सत्तामा गइन । यतिसम्म कि श्रीमान श्रीमतीको विवादले देशको सत्ता परिवर्तन हुने अवस्था आयो । श्रीमान-श्रीमतीको झगडाले सुदूरपश्चिम प्रदेशको सत्ता धरापमा पर्यो । अहिले श्रीमान-श्रीमतीको विवाद समाधान हुँदा पार्टीभित्रको कलह शान्त भएको छ ।
यसैबीच पुराना नेताहरूको नयाँ दल हो- नेकपा एकीकृत समाजवादी । जम्मा १० सांसद रहेको यो दलमा दुई पूर्वप्रधानमन्त्रीहरू माधव कुमार नेपाल र झलनाथ खनाल छन् । तर, पार्टीभित्रको विवाद भने सानो छैन ।
एकीकृत समाजवादीको विवाद महाधिवेशनपछि बढेको हो । मनोनीत केन्द्रीय सदस्यबाट पदाधिकारीमा निर्वाचन गराएको, हार्नेलाई जिताउने र जित्नेलाई हराउने गरी निर्वाचनमा चिट बाँडिएको आरोप असन्तुष्ट नेताहरूले लगाउन भ्याए । निर्वाचनमा आचार संहिताविपरीतका गतिविधि भएको विषय केन्द्रीय कमिटी बैठकमै उठेपछि अध्यक्ष नेपालले छानबिनको प्रतिबद्धता जनाउनु परेको थियो ।
एकीकृत समाजवादीभित्रको विवाद अहिले शान्त देखिए पनि पार्टी अध्यक्ष नेपालले पार्टीको विरोध गरेको भन्दै आफ्नै नेताहरूलाई कारबाहीको चेतावनी दिँदै आएका छन् ।