धादिङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोकेका सवारी साधन चल्नबाट पूर्णरुपमा रोक लगाउने बताएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले धादिङमा आयोजना गरेको कार्यक्रममा मन्त्री दाहालले ४९ टनभन्दा बढी भार बोकेर सडकमा गुडाउन नपाउने कार्यविधि बनाएको पनि सम्झिए । ४९ टन भन्दा बढी भार बोकेर सडकमा गुड्ने सवारी साधानलाई के कारबाही हुने भन्ने स्पष्टता नरहेकाले सरकारले अहिले त्यसलाई पूर्ण रुपमा रोक लगाउने गरी आवश्यक प्रबन्ध गर्न लागेको बताए ।
छिमेकी मुलुकहरूको बाटोबाट आएका सामानहरूलाई सीमानाकामै निरीक्षण गरी सडकको भार क्षमता भन्दा बढी बोक्न नदिने तयारी भइरहेको उनले जनाए । त्यसरी रोक्नका लागि नियमावली, कार्यविधिले नपुगे कानुन बनाउन पनि सरकार तयार रहेको दाहालले बताए ।