काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँ ल्याउने भएको छ । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई काठमाडौँ ल्याउन खोजिएको हो ।
यसअघि जोशीलाई कास्कीको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा अनुसन्धान गरिएको थियो । यसका लागि उनलाई प्रहरीले पोखराबाट बुटवल लगिएको थियो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट एक करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ ।
स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पनि ल्याइने भएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय काठमाडौँले पक्राउ पुर्जी जारी गरिसकेको छ ।