काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी पीडित केन्द्रीत भएर आन्दोलन गर्ने भएको छ । पार्टी सभापति लामिछानेको रिहाई गर्न माग गर्दै आएको आन्दोलनबाट सहकारी पीडिततर्फ मोडिएको हो ।
सहकारी पीडितहरूले भोलि मंसिर ५ गतेदेखि आन्दोलन गर्ने तयारी गरेको छ । सोही आन्दोलनमा रास्वपाले साथ दिने भएको हो ।
कार्यवाहक महामन्त्री मनिष झाले जारी गरेको विज्ञप्तिमा सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउने उल्लेख गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोधको अभ्यास गर्दै कसैलाई हिरासतमा राख्दैमा यो समस्या समाधान हुँदैन, न त पीडितहरूले आफ्नो बचत फिर्ता पाउने छन्, तसर्थ यसको निराकरणतर्फ काम गर्न सरकार तथा सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरुले बचत रकम फिर्ताको माग आन्दोलन हुने भएको छ ।