काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका २ शिवचोकस्थित स्करपियो गाडीले सिटी सफारीलाई ठक्कर दिँदा सफारी चालकको मृत्यु भएको छ ।
रामधुनी नगरपालिका शिवचोकबाट पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको प्रदेश १०२००४ ख ४३१५ नम्बरको सिटी सफारीलाई पूर्वतर्फ जाँदै गरेको युपी १६ इके १९८९ नम्बरको भारतीय स्करपियोले सिटीलाई ठक्कर दिएको थियो ।
सफारी चालक रामधुनी नगरपालिका ९ निवासी ३६ वर्षीया सोनियाकुमारी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
स्करपियो गाडी ठक्करबाट गम्भीर घाइते सफारी चालकलाई उपचारका लागि स्थानीय हस्पिटल ओमसाई झुम्कामा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक तिमल्सिनाले बताए ।
ठक्कर दिने गाडी र चालक भारत विहार सीतामढी सोनबरजा बस्ने ३४ वर्षीय अनिरुद्र सुढीलाई प्रहरीले नियन्त्रणामा लिएको छ । इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताए ।