काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा भत्ता तथा सुविधाको शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ लिएका छन् ।
राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदनअनुसार गभर्नरले एक वर्षमा १६ लाख ३२ हजार तलब बुझेका हुन् । सोही अवधिमा तीन लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता लिएका छन् ।
राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर, डेपुटी गभर्नर अर्थ सचिव र तीन जना अन्य सदस्य हुन्छन् । गत आवमा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले १४ लाख ६० हजार रुपैयाँ तलब लिएकी छन् ।
उनले सञ्चालक समितिको बैठक भत्तावापत दुई लाख ९७ हजार बुझेको प्रतिवेदनमा उल्लेख छ । अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले अन्य सुविधा र भत्ता शीर्षकमा ४० लाख ७० हजार बुझेका छन् ।