काठमाडौं। बझाङ स्थायी घर भएर काठमाडौं बस्दै आएकी रश्मिला कुमारी धामीले आत्मदाहको प्रयास गरेकी छन्। धामीले उच्च अदालत पाटन परिसरमा आत्मदाह प्रयास गरेकी हुन्।
उनले आफू एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्व अध्यक्ष ऐन महरद्वारा पीडित भएकाले आत्मदाह प्रयास गरेको जनाएकी छन्। महर पनि बझाङका विवाहित नेता हुन्, भने धामी पनि डिभोर्सी महिला हुन्।
केही समय अगाडिदेखि उनीहरुको गोप्य सम्बन्ध संजालमा चर्चामा आएकोमा सो विषय अहिले प्रहरीदेखि अदालतसम्मै पुगेको बताइन्छ।
महरले लामो समयसम्म आफूलाई बिहे गर्छु भनी यौन शोषण गर्दै आएको भन्दै धामी पाटन अदालत धाइरहेकी छन्। उनको मुद्दामा सुनुवाई नभएको अवस्थामै महरले पनि बार्गेनिङ गरेको र साइबर अपराधमा धामीविरुद्ध मुद्दा नै हालेका थिए।
सोही प्रकरणले महरलाई केही समय पहिले नेकपा एमालेले एक महिने निलम्बन गरेको थियो। तर तुरुन्तै फुकुवा गरी पछिल्लो उपचुनावमा उनलाई सघाउन बझाङ्ग पठाएको थियो।