मतदान नहुँदै दुई पार्टीले खोल्यो खाता, सत्ता गठबन्धनलाई माओवादीको धक्का-Sutra News

मतदान नहुँदै दुई पार्टीले खोल्यो खाता, सत्ता गठबन्धनलाई माओवादीको धक्का

बुधबार, ५ मंसिर २०८१

बुधबार, ५ मंसिर २०८१

काठमाडौँ । निर्वाचन आयोगले आगामी १६ गते रिक्त भएको ४४ स्थानीय तहमा निर्वाचनको तयारी गर्दै छ । निर्वाचनका लागि ४०७ जनाको मनोनयन दर्ता गरेका छन् ।



गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता गरेको आयोगले जनाएको छ ।

गाउँपालिका र नगरपालिका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरूष र एक अन्य गरी ३२३ जनाको मनोयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।

निर्वाचनका लागि एक्लाएक्लै उम्मेदवारी घोषणा गरेका सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी तालमेल गरेका छन् । दुई दलले दुई जिसस प्रमुख र एक पालिकामा सहकार्य गरेका हुन् ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचन कांग्रेसको रुख चिह्नमा मैदानमा छिन् । यो क्षेत्र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको गढ मानिँदै आएको छ । यस्तै, सोही पालिकाको वडा नम्बर २ मा कांग्रेस-एमालेले जीवन रोकालाई उम्मेदवार बनाएको थियो ।

कांग्रेस-एमालेले साझा उम्मेदवार बनाएको जीवन रोकाले आफ्नो उम्मेदावरी फिर्ता लिएपछि माओवादीका उम्मेदवार विजयी भएका छन् । यस चुनावी क्षेत्रमा माओवादीका जगत घर्ती निर्विरोध चयन भएका हुन् ।

वडाध्यक्ष पदमा घर्ती निर्वाचित भएसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् । उनले आफ्नो सफल कार्यकाल कामना गर्दै शुभकामना दिएका हुन् ।

‘रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को उप निर्वाचनमा वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा हाम्रो पार्टीका उम्मेदवार क. जगत घर्ती (काजु)लाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उनले फेसबुकमा भनेका छन् ।

यस्तै, जिल्ला समन्वय समिति प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका चौधरी निर्विरोध निर्वाचित भएका छन् । उनीहरू दुवै जना का‌ंग्रेसका हुन्

जिल्ला समन्वय समिति ओखलढुंगाको कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गरेका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले धन्यवाद व्यक्त गरेको थियो ।

यस्तै, जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । कांग्रेसबाट उम्मेदवारी दिएकी उनी निर्विरोध भएकी हुन् ।

उनीसँगै प्रतिस्पर्धी गर्न उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै चौधरी निर्विारोध भएकी हुन् ।

निर्वाचनअगावै  तीन स्थानका उम्मेदवार विजयी भएका हुन् । कांग्रेस र माओवादीले स्थानीय तहको उपनिर्वाचनमा खाता खोल्न सफल भएको हो । योसँगै अब बाँकी ४१ स्थानमा निर्वाचन हुने भएको छ ।

मतदान हुनुपहिले निर्वाचित भएका उनीहरूलाई निर्वाचन आयोगले आधिकारिक रुपमा विजयी भएको घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट