घरघरको कथा बोकेको फिल्म ‘तेल भिसा’, सफल हुने विश्वास-Sutra News

घरघरको कथा बोकेको फिल्म ‘तेल भिसा’, सफल हुने विश्वास

बुधबार, ५ मंसिर २०८१

बुधबार, ५ मंसिर २०८१

काठमाडौँ । कुन सिनेमा चल्छ ? कस्तो सिनेमा चल्छ ? भन्ने मेकरलाई पनि थाहा हुँदैन । त्यसैले पहिलो दिन नै हलबाट उत्रिने सिनेमा र करोडौँ कमाउने सिनेमामा पनि कलाकार, निर्देशक र निर्मातामा उत्तिकै आशा हुन्छ ।



यही कारण आफ्नोतर्फबाट सक्दो मेहनत निर्माण पक्षले हलमा सिनेमा आउने दिनसम्म गर्छन् । यति हुँदाहुँदै पनि जनताको घरघरका कथा भन्ने सिनेमा दर्शकले मन पराउने सम्भावना भने उच्च हुन्छ ।

हरेक व्यक्ति र परिवारसँग नजिकको कथामा बन्ने चलचित्रलाई दर्शकले मन पराउँछन् । यो भने यसअघि रिलिज भएका सिनेमाले पनि पुष्टि गरिसकेका छन् ।

यस्तै घरघरका कथा उठान गरेको सिनेमा हो, यही शुक्रबारबाट रिलिज हुन लागेको सिनेमा ‘तेल भिसा’ । यो सिनेमाले विदेशिएका नेपालीले विदेशमा भोग्ने समस्या उठान गरेको छ ।

विदेशिएका नेपालीको परिवारले नेपालमा परिवारसँगको बियोग र त्यसको छटपटिमा समय बिताउनु परेको कथा ‘तेल भिसा’ले उठान गरेको छ ।

अहिले विदेशमा परिवारको सदस्य नभएको नेपालीको घर सायदै होला । दूरदराज पहाडका घरका सदस्य रोजगारीका लागि खाडी गएका छन् । सहरबजारका घरका सदस्य युरोप, अमेरिका र अष्ट्रेलिया पुगेका छन् । त्यसैले यो सिनेमाको कथा घरघरको कथा हो । परिवार परिवारको कथा हो ।

निर्देशक तथा लेखक शंकर घिमिरेका अनुसार सिनेमाले अमेरिका, क्यानडा, अष्ट्रेलियाजस्ता देशमा रहेका नेपालीका कथा उठान गरेको छ । पढ्न वा काम गर्न गएका नेपालीले अमेरिका लगायत देशमा कस्ता दुःख बेहोरिरहेका छन् सिनेमाले उठान गरेको उनले प्रष्ट पारेका छन् ।

विदेशी मुलुकको भाषा नबुझ्दा, सहयोग गर्ने आफ्ना आफन्त नहुँदा, पराइ मुलुकको कानुन नबुझ्दा नेपालीले झेल्नु परिरहेको कथा ‘तेल भिसा’मा छ ।

बाहिरबाट हेर्दा विदेशको काम, बसाई र जीवनमा जति चमकधमक छ, त्यति नै भित्री पाटो फुंग उडेको र निरस छ भन्ने सिनेमाले भन्ने निर्देशक घिमिरे बताउँछन् ।

सिनेमाले उठान गरेका कति घटना रियल भएको र कति यथार्थको नजिक रहेको उनले प्रष्ट पारेका छन् । विदेशी भूमिकामा रहेका आम नेपालीको कथा यो सिनेमाले भन्ने भएकाले यो दर्शकमा कनेक्ट हुने उनको अपेक्षा छ । विगतका सिनेमाको ट्रयाक हिस्ट्रीले पनि यो सम्भावना बलियो देखाएको छ ।

ट्रलेरले मन छोयो, परदेशका नेपालीको कथा, आफ्नै भोगाई भन्नेजस्ता प्रतिक्रिया आइरहेकाले पनि ‘तेल भिसा’ले दर्शकको मन जित्नेमा यसको निर्माणपक्ष ढुक्क देखिएको छ ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’मा अभिनेता विपीन कार्की बृद्ध र जवानसहित दोहोरो भूमिकामा छन् । उनको दोहोरो भूमिकाका कारण पनि दर्शकमा कौतुहलता देखिएको छ ।

विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ ।

यो सिनेमाको छायांकन अमेरिका र नेपालमा भएको थियो । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।

सिनेमा ‘तेल भिसा’ मंसिर ७ गते रिलिज हुँदैछ । यतिबेला निर्माणपक्ष सिनेमाको प्रचारमा व्यस्त छ । सिनेमाले उठान गरेको कथा, ट्रेलरमा आएको प्रतिक्रिया, सिनेमामा कलाकारको लाइनअप, अग्रज र अहिलेका कलाकारको मिक्सअप, निर्मातामा रहेको अनुभव आदिले सिनेमाले व्यवसायिक सफलता पाउनेमा निर्माणपक्ष ढुक्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट