काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री बन्न कुनै अनुभव र योग्यता नचाहिने गरेको बताएका छन्। उनले चुनाव जितेर आएपछि पार्टी र नेताले मन पराएपछि मन्त्री बन्ने खुलासा गरेका छन्।
बुधवार काठमाडौँमा विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने‚ ‘त्यो मन्त्रालय चलाउन यति अनुभव र योग्यता चाहिन्छ भन्ने केही पनि छैन। चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो। त्यो हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र पाएको छैन।
खेलकुदको ख नबुझ्नेहरू जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु म। वन नबुझेको मान्छेहरू वनमन्त्री भइरहेको हुन्छ। त्यस्तै त्यस्तै म पनि त्यहीँ भित्र पर्छु जस्तो लाग्छ मलाई। म यो सञ्चारको धेरै कुरा नै बुझेको छैन। म जे गर्छु, जनताका लागि गर्छु।’ लोकरिझ्याइँको राजनीति गलत भएको बताएका छन्।