प्रधानमन्त्री ओलीको सरकारी निकायमै फरक–फरक विवरण !-Sutra News

प्रधानमन्त्री ओलीको सरकारी निकायमै फरक–फरक विवरण !

छैटौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीमा फेरेका थिए नाम

बिहिबार, ६ मंसिर २०८१

बिहिबार, ६ मंसिर २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा भ्रामक सूचना फैलाएको आरोपमा अहिले मेडिकल व्यवसायी दुर्गा प्रसाइँ अनुसन्धानका लागि भन्दै अहिले प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंसिर ४ मा पक्राउ गरेको थियो ।



प्रसाईँले प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भन्दै केही कागजपत्र सार्वजनिक गरेका थिए । जुन विवरणहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

प्रसाईँले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री ओलीको उक्त टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर बराबरको लगानी रहेको दाबी गरिएको छ । जुन यसअघि मिडियामार्फत पनि चर्चा फैलाइएको थियो ।

जसलाई भ्रामक समाचारहरू सम्प्रेषण गरेको निष्कर्ष निकाल्दै सिआईबीले छानबिनको दायरामा ल्याएको थियो । प्रसाईँले ‘सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पार्ने गरी घृणा, द्वेष फैलाउने कार्य गरेको’ प्रारम्भिक निष्कर्ष सिआईबीको छ ।

विशेषगरी प्रधानमन्त्री ओलीको नागरिकताको विवरण र प्रसाईँले सार्वजनिक गरेको विवरणमा नाम नै फरक पाइन्छ । जसलाई मात्रै आधार बनाएर केही सञ्चार माध्यमले ‘किर्ते’ भन्दै समाचार दिएका थिए ।

तर, प्रसाईँले सार्वजनिक गरेको विषय फरक भए पनि प्रधानमन्त्री ओलीको नाम र नागरिकतासम्बन्धी विवरण भने सरकारी निकायमै फरक–फरक भेटिन्छ । साथै, उनी आबद्ध पार्टीका विभिन्न कागजपत्रमा पनि नाम फरक–फरक भएको पाइन्छ ।

सरकारी निकायकै विवरणमा समस्या

प्रसाईँले सार्वजनिक गरेको विवरणलाई लिएर प्रश्न उठाइँदा प्रधानमन्त्री ओलीको सरकारी निकायकै विवरणमा समस्या देखिन्छ । सार्वजनिक प्रधानमन्त्री ओलीको नागरिकताको विवरण, निर्वाचन आयोग र संसद् सचिवालयको कागजपत्रमै प्रधानमन्त्री ओलीको सन्दर्भमा भएका विवरण फरक–फरक छन् ।

नागरिकताको विवरण, निर्वाचन आयोगको मतदाता परिचयपत्र र संघीय संसद् सदस्य, २०७४ को परिचयात्मक पुस्तिकामा भएको विवरणमा प्रधानमन्त्री ओलीको नागरिकता नम्बर नै फरक छ भने नाम पनि फरक–फरक शैलीमा लेखिएको छ । एकातिर नागरिकताको अगाडिको नम्बर एउटै भए पनि पछाडिको नम्बर फरक–फरक छ भने नाममा पनि कतै ‘थोप्लो’ त कतै ‘ब्राकेट’ फरक–फरक पारिएको छ ।

साथै, नागरिकता जारी मिति हेर्दा पनि प्रधानमन्त्री ओलीले ‘प्रतिलिपि नागरिकता’ प्रयोगमा ल्याएको पाइन्छ । सार्वजनिक नागरिकताअनुसार २०४५ भदौ ५ मा जारी भएको नागरिकतालाई २०७० असोज १४ मा प्रमाणित गरिएको छ । यद्यपि, नागरिकतामा कहीँ कतै ‘प्रतिलिपि’ भन्ने शब्द उल्लेख गरिएको छ ।

नाममाथि उठेको प्रश्न

प्रधानमन्त्री ओलीको नामलाई लिएर कहिले काहीँ प्रश्न उठेको पाइन्छ । प्रधानमन्त्रीको नाम ‘केपी शर्मा (ओली)’ वा ‘खड्गप्रसाद ओली’ ?

प्रधानमन्त्री ओलीको सार्वजनिक नागरिकताको विवरण हेर्दा, उनको नाम ‘केपी शर्मा (ओली)’ भएको पाइन्छ । जुन विवरण संसद् सचिवालयको विवरणसँग मेल खान्छ । यद्यपि, निर्वाचन आयोगको विवरणमा भने उनको नाम ‘के.पी शर्मा ओली’ राखिएको छ । जसलाई ‘इरर मिस्टेक’ मान्न सकिन्छ ।

तर, पार्टीका महाधिवेशनअनुसार उनको नाम भने फरक–फरक भएको भेटिन्छ ।

नेकपा (माले)को नाममा भएको चौथो राष्ट्रिय महाधिवेशन र नेकपा (एमाले)को नाममा भएको पाँचौँ राष्ट्रिय महाधिवेशनसम्म प्रधानमन्त्री ओलीको नाम ‘खड्गप्रसाद ओली’ छ । तर, त्यसयता नेकपा (एमाले)को नाममा भएका महाधिवेशनहरूमा ‘के.पी. शर्मा ओली’ नाम राखिएको छ ।

रोचक, कतिपय महाधिवेशनमा ‘के.पी. शर्मा ओली’ नाम राखिएको छ भने कतिपयमा ‘केपी शर्मा ओली’ राखिएको छ । जहाँ नामको बिचमा प्रयोग गरिएको थोप्लो हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट